images

प्रसूति गृहबाट शिशु लिएर फरार भएका तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शुक्रबार शिशु चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले गएराति काँडाघारीबाट चोरिएको शिशु (२६ दिनको बालिका) लाई उद्दार गरेको छ ।  शिशु लिएर जाने दैलेख नौमुले गाउँपालिका १ घर भई काठमाडौं,काँडाघारी बस्ने २४ बर्षीय मन कुमारी सिंह, निजको श्रीमान २८ बर्षीय नरेन्द्र मल्ल र निजको दिदि शारदा शाहीलाई कागेश्वरी मनोहरा नगरपालिका ९ काँडाघारीस्थित डेराबाट प्रहरीले शुक्रबार राती नै पक्राउ गरेको जनाएको छ । 
शुक्रबार दिउँसो प्रसूति गृहबाट काभ्रे,चौरीदेउराली गाउँपालिका –३ घर भई हाल काठमाडौंको कपन बस्दै आएकी सबिना श्रेष्ठको शिशु चोरी भएको घटना बाहिरिएको थियो । घटना लगत्तै क्लोज सर्किट (सीसी) क्यामरा फुटेजका आधारमा खोजीमा जुटेको प्रहरीले घटनामा संलग्नलाई काँडाघारीबाट पक्राउ गरेको हो । विवाह भएको तीन वर्षसम्म बच्चा नभएपछि शिशु चोरी गर्ने योजना अनुसार नै उनिहरुले प्रसूति गृह गएर शिशु चोरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । 
 
 

शनिबार १२ फागुन २०८० १०:०४ AM मा प्रकाशित

प्रतिक्रिया