images

इलाम २ उपनिर्वाचन ः ‘राजनीतिक पर्यटन’को घुइँचो

इलाम । यही बैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनको गर्मी केन्द्रदेखि जिल्लासम्म छ । निर्वाचन परिणामले शीर्ष राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुको भावी राजनीतिको रुपरेखा कोर्ने भएकाले यसलाई प्रतिष्ठाको विषय बनाइएको छ । चुनावी परिणाम अंग गणितीय रुपमा जेसुकै भएपनि दलहरुले आफ्नो प्रतिष्ठा र भावी राजनीतिको दिशानिर्देश गर्ने निश्चित छ । सोही कारणले पनि इलाम २ राष्ट्रिय राजनीतिको केन्द्रविन्दुमा छ । राजनीतिक अदलबदल र सत्ता समीकरणका हिसाबले पनि इलाम २ को उपनिर्वाचन मुख्यगरी नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र कोशी प्रदेश नामाकरण विषयमा असन्तुष्टि जनाउँदै आएका पहिचानवादीहरुले विशेष चासोका साथ हेरेका छन् । एमाले अढाइ दशकदेखिको आफ्नो विरासत जोगाउने तयारीमा छ भने कांग्रेस विरासत भत्काउने अभियानमा छ । अन्य दल र स्वतन्त्र उम्मेदवारहरु आफूलाई इलाममा स्थापित गराउने दाउमा छन् । विशेषगरी पहिचानवादीहरुले उपनिर्वाचनलाई आफ्नो आन्दोलनको रुपमा हेरेका छन् । त्यसैले पनि इलाममा राजनीति गर्माएको छ र ‘राजनीतिक पर्यटन’को गतिविधि बढेको छ । २०७९ को निर्वाचन भन्दा हालको उपनिर्वाचन परिस्थितिका हिसाबले फरक रहेको छ । मतदाताको मनोविज्ञान र भावना केही परिवर्तन भएको बुझेका उम्मेदवाहरु परिणाम आफ्नो पक्षमा पार्न सक्दो मेहेनत गरिरहेका छन् । प्रतिष्ठा र भावी राजनीति दिशानिर्देश गर्ने भएकाले इलाम यतिबेला केन्द्रीय नेताहरुको भ्रमण गर्ने गन्तब्यका रुपमा पनि विकसित भएको छ । ‘राजनीतिक–पर्यटन’ इलाममा मजाले फष्टाएको छ । कार्यकर्ता र नेताहरुको भ्रमणले इलामको पर्यटनमा थोरै मलजल पुगेको छ । होटल हाम्रो पोखरेलीका संचालक विजय राई कार्यकर्ता र नेताहरुले होटल बुकिङले गर्दा १० दिन यता कारोबार राम्रो भइरहेको बताउँछन् । ‘राजनीतिक पर्यटनले व्यवसायीलाई केही उत्साहित गराएपनि यो दिगो होइन । चुनावका बेला नेताहरुको मिठो भाषण, महत्वकांक्षी योजना सुन्न पाइन्छ । होटलमा घोषणा पत्रका बारेमा उत्तेजित योजनाहरु सुन्न पाइएको छ तर पर्यटन प्रवद्र्धन र विकासका लागि उपलब्धी सोचे अनुसार काम भएको छैन,’ उनले भने,‘पर्यटनका लागि इलामले धेरै गर्नुपर्नेछ । केन्द्रीय नेताहरुको भ्रमणले केही सुधार हुने अपेक्षा चाहीं गर्न सकिन्छ ।’ हुन पनि इलामको माटोमा पाइला नै नटेकेका नेताहरुलाई यसपाली घुम्ने मौका मिलेको छ । भौतिक विकासका दृष्टिकोणले कमजोर रहेको इलाम क्षेत्र नम्बर २ का स्थानहरुमा नेताहरुको उपस्थितिले स्थानीय केही उत्साहित छन् । उम्मेदवारी दर्ताकै दिन मात्र दर्जन बढी केन्द्रीय नेताहरु इलाममा थिए । त्यसपछि निरन्तर फरक फरक दलका नेताहरु इलामको भ्रमणमा छन् । दुई दिन भएपनि गाउँमा पुगेर मतदाताको समस्या सुन्न भ्याइरहेका छन् । उपनिर्वाचनकै सिलसिलामा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय नेताहरु आफ्ना उम्मेदवारको चुनावी अभियानका लागि इलाम पुग्नेक्रम अहिले पनि जारी छ । कांग्रेस जिल्ला सभापति डम्बरबहादुर खड्काको उम्मेदवारी दर्तामा सहमहामन्त्री भिष्मराज आङदेम्बे, बन्द्री पाण्डे, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापा लगायतको टोली इलाममा थिए । त्यसपछि कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइराला इलाम पुगेर तस्विर खिचाइसकेका छन् । डा.कोइराला मंगलबार किराँत धर्मगुरुको बसोबास रहेको लारुम्बा भ्रमणमा थिए । विश्वप्रकाश चुनावी कमान्डर नै भएकाले इलामका गाउँमा बाक्लै देखिएका छन् ।  पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल बाक्लो रुपमा इलाम बसिरहेका छन् । चुनावी कमान्डर नै भएकाले उनी आफ्नो दलका उम्मेदवार जीतवहादुर राईले चुनाव जित्ने ठोकुवा गरिरहेका छन् । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, नेतृ नविना लामालगायत यसअघि नै इलाम पुगेर घरदैलो गरिसकेका छन् । गत ११ चैतमै सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएपछि दिंवगत नेता सुवास नेम्बाङको निवास सुन्तलावारीस्थित घरमा पुगेर अन्तरक्रिया गरेका थिए । साथै पूर्वमन्त्रीहरु भानुभक्त ढकाल, तिलकुमार मेन्याङ्बोलगायत नेताहरुले चुनावी कार्यक्रममै भाग लिएका थिए । केही दिनमै अध्यक्ष केपी शर्मा ओलीले इलाम पुगेर चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले इलामले जनाएको छ । एमालेका तर्फबाट पूर्वउपसभामुख एवं पार्टी नेता शिवमाया तुम्वाहाम्फेले उपनिर्वाचनको संयोजन गरिरहेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई रास्वपाले चुनावी संयोजन गरेर काम गरिरहेका छन् । सभापति रवि लामिछाने यसअघि नै इलाम पुगेर आफ्नो दलका उम्मेदवार मिलन लिम्बुलाई सार्वजनिक समारोहबिच नै घोषणा गरे । लामिछानेसँगै उपसभापति स्वर्णिम वाग्ले, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलगायत सोबिता गौतम, गणेश पराजुली, मनिष झा, असिम साह, अशोक चौधरी र हरि ढकाललगायतका नेताहरु पनि इलाम उत्रिएर घरदैलो गर्न भ्याइसकेका छन् । हाल सरकारमा रहेका चार मन्त्री पुनः इलाम जाने तयारीमा छन् । पार्टीका उम्मेदवार लिम्बूको चुनावी प्रचार–प्रसारका लागि सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री लामिछानेसहित चार मन्त्री इलाम जाने महामन्त्री मुकुल ढकालले जानकारी दिए । शिक्षामन्त्री सुमना श्रेष्ठ, खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, श्रम मन्त्री डिपी अर्यालले फरक फरक मितिमा इलाममा घरदैलो गर्ने कार्यक्रम तय भइसकेको छ । जनमत पार्टीका अध्यक्ष सीके राउत पनि इलामको भ्रमण गर्न भ्याइसकेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन र बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले इलाम पुगेर चुनावी सभालाई सम्बोधन गरिसकेका छन् । राउतले कन्याममा घोडसवार नै गरेर तस्विर खिच्न भ्याए । अरु नेताहरुपनि चियाबारी डाँडामा उक्लिएर तस्विर खिचाउन होडबाजी गरिरहेका छन् । कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने भनिएको इलाममा यसपाली नयाँ दल रास्वपा र पहिचानवादीरुका उम्मेदवार थपिएपछि चुनावी माहोल बदलिएको छ । आगामी २०८४ सालको निर्वाचनका लागि नयाँ सन्देश प्रवाह गर्ने उद्देश्यका साथ नेताहरु इलाम भ्रमणलाई बाक्लो बनाइरहेका छन् । पुराना दलहरुका लागि टाउको दुखाइ बनेका पहिचानवादीका उम्मेदवार डकेन्द्रसिंह थेगिमको पक्षमा माहोल बनाउन धरान उपमहानगरका मेयर हर्क साङपाङ पनि इलाम ओहोरदोहोर गरिरहेका छन् । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई थेगिमको पक्षमा माहोल बनाउन यसअघि नै इलाम पुगिसकेका छन् । त्यसवाहके लिम्बुबान आन्दोलनका नेता एवं संघीय लिम्बुवान पार्टीका अध्यक्ष सञ्जुहाङ पालुङ्वा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रिय अध्यक्ष कुमार लिङदेन लगायत नेताहरुले इलामलाई भ्रमणको केन्द्रमा राखेका छन् । नेताहरुको इलाम दौडधुप राजनीतिक प्रतिष्ठा, भावी रुपरेखा मात्र नभइ इलाम घुमघामको मेसो पनि बनेको छ । यसलाई कतिपयले ‘राजनीतिक पर्यटन’ भनेका छन् । विकासका दृष्टिकोणले पछि परेको इलाम २ का गाउँहरुलाई दशकौंसम्म सम्बोधन गर्न नसकेका नेताहरुका लागि उपनिर्वाचनलाई एउटा परीक्षाका रुपमा हेरिएको छ । 
 

मङ्गलबार ४ बैशाख २०८१ ०७:०४ PM मा प्रकाशित

प्रतिक्रिया