images

उदयपुर गाडी दुर्घटना ः मृतक संख्या ८ पुग्यो, ९ जना घाइते

विराटनगर । उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीमा आज बिहान भएको बोलेरो गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । दुर्घटनामा ९ जना घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । भोजपुरको घोडेटारबाट धरान जाँदै गरेको को १ ज २५९३ नम्बरको बोलेरो बिहान ११ बजे मैनामैनीमा सडकबाट अन्दाजी चार सय तल खसेको थियो । त्यसक्रममा ७ जनाको घटनास्थलमै तथा एकजनाको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरुमध्ये चालक हतुवागढी गाउँपालिका–२ का ४० वर्षीय मानबहादुर बस्नेत र हतुवागढी गाउँपालिका–५ का ४२ वर्षीय किसान राईको मात्र सनाखत भएको छ । दुर्घटनामा परी ६ जना पुरुष र ३ जना महिला गरी ९ जना घाइते भएको उल्लेख गर्दै उनीहरुको प्रतिष्ठानमा उपष्चार भइरहेको प्रहरीले जनाएको छ ।
 

बिहीबार १ चैत २०८० ०६:३४ PM मा प्रकाशित

प्रतिक्रिया