दुर्गा प्रसाईंले बोली फेरे–‘सक्नेले ऋण तिर्नुस्,नसक्नेले पर्दैन’

काठमाण्डौँ - नागरिक बचाउ अभियान र बैंक तथा लघुवित्त पीडितलाई सडकमा उतार्ने आन्दोलनको नतृत्व गरिरहेका व्यवसायी दुर्गा प्रसाईंले आफ्नै बोली सच्याएका छन्।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक प्रसाईंले ऋण तिर्न नसक्नेहरूका लागि आफूहरू आन्दोलित भएको तर,सक्ने हैसियत भएकाले ऋण तिर्नुपर्ने बताएका हुन्।

यसअघि, उनले बैंक तथा लघुवित्तको २० लाख सम्मको ऋण मिनाहा हुनुपर्ने र घरमै आएर तनाव दिने लघुवित्त कर्मचारीलाई कालोमोसो दल्नुपर्ने उत्तेजक अभिव्यक्ति दिँदै आएका थिए। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले आफूले ऋण तिर्नु पर्दैन भनेर नभनेको समेत जिकिर गरे।

संघीयता खारेजी र राजसंस्था पुनर्स्थापनाको समेत अभियान चलाएका प्रसाईंले तिर्न सक्नेले ऋण तिर्नुपर्ने र नसक्नेहरूका लागि सरकारले ऋण मिनाहा गरिदिनुपर्ने बताए । उनले चर्को ब्याजदरमा ऋण तिर्न सक्नेहरूलाई तिर्न पनि आग्रह गरे ।