images

दोश्रो जापान-नेपाल शैक्षिक तथा व्यापार औद्योगिक सेमिनार सम्पन्न 

ओसाका, जापान । एरु एकेडिमी ओसाका र क्योउदाइ रेमिट्यान्स तथा आईएमइको संयुक्त आयोजनामा दोश्रो जापान-नेपाल शैक्षिक तथा व्यापार औद्योगिक अनलाइन सेमिनार २६ मार्च २०२४ मा  सम्पन्न भएको छ। कार्यक्रममा नेपालको तर्फबाट जापानका लागि नेपाली राजदुत महामहिम डाक्टर दुर्गा बहादुर सुवेदी, आईएमइ ग्रुपका संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले सम्बोधन गर्नुभएको थियो भने जापानको तर्फबाट एरु एकेडिमीका अध्यक्ष केईइची हासेगावा, चेयरमेन  माकोतो साकिमुरा, कान्साइ अर्थ, व्यापार तथा उद्योग ब्यूरोका प्रोजेक्ट म्यानेजर हागीहारा दाइसाकुले सम्बोधन गर्नु भएको थियो ।

दुई चरणमा सम्पन्न सो कार्यक्रमको पहिलो चरणमा जापान नेपाल सम्बन्ध, जापानको श्रम बजारमा बढ्दो नेपाली कामदारको माग र त्यसको पूर्ति, पछिल्लो समय तिव्र रुपमा जापानमा बढिरहेको नेपालीहरुको जनसंख्यासंगै आउने सम्भावित समस्या र त्यसको निराकरणको लागि चाल्नु पर्ने कदम लगाएतको विषयमा वक्ताहरुले आफ्नो धारणा राख्नु भएको थियो। 

दोश्रो चरणमा नेपालबाट अनलाइन मार्फत सहभागि कम्पनीहरुलाई जापानमा विविध क्षेत्रमा नेपाली जनशक्ति भित्र्याउन चाहने कम्पनिहरुसंग व्यवसायीक  रुपमा जोड्न सहयोग गर्ने उद्धेश्य अनुरुप पर्यटन, होटल, रेस्टुरेन्ट उद्योग, स्पेसीफिक स्कील वर्कर, इन्फरमेसन टेक्नोलोजी, उत्पादन उद्योग, रियल स्टेट तथा मानव संसाधन जस्ता विभिन्न समुहमा विभाजन गरि परिचयात्मक अन्तर्कृया कार्यक्रम तथा नेपालबाट जापानमा विद्यार्थी लगाएत विविध क्षेत्रका कामदारहरु पठाउन चाहनुहुने र नेपालको बिभिन्न क्षेत्रमा व्यवसाय प्रबर्धन तथा अभिबृदी गर्न चाहनुहुने जापानिज कम्पनीहरुलाई व्यवसायिक छलफल र व्यापारिक साझेदारीको सम्भावना  लगाएतका विषयमा अन्तरक्रिया गराइएको थियो। 

कार्यक्रममा जापानका लागि नेपाली राजदुत महामहिम डाक्टर दुर्गा बहादुर सुवेदीले जापान नेपालको लामो दौत्य सम्बन्धको चर्चा गर्दै सो कार्यक्रम मार्फत नेपाल र जापानको व्यापार व्यवसाय प्रवर्धनमा  इट्टा थपिने र जापानी लगानीकर्ताहरुलाई नेपालमा लगानीको लागि सक्दो सहयोग गर्न सदैब तत्पर रहेकोले ढुक्क भएर लगानी गर्न अनुरोध गर्नु भएको थियो। कार्यक्रममा आईएमइ ग्रुपका संस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले नेपाल जापान सम्बन्धको लामो ईतिहास रहेको कुरा व्यक्त गर्दै जापानले नेपालबाट भाषा विद्यार्थी, सामान्य कामदार मात्रै नभएर इन्फरमेसन टेक्नोलोजी लगायत क्षेत्रको उच्च दक्ष कामदार पनि प्रशस्त मात्रामा लिन सक्ने कुरा बताउदै ढकालले नेपाल क्रमश अर्धविकसित देशबाट विकासशील राष्ट्रको गतिमा अगाडी बढ्न प्रयासरत रहेको र त्यसको लागि बैदेशिक लगानीको पनि आवस्यक रहेकोले नेपालमा लगानी गर्न इच्छुक जापानी कम्पनिहरुलाई ढुक्क भएर लगानी गर्न अनुरोध गर्नु भयो ।  नेपाल सरकारको आयोजनमा यहि अप्रिल २८, २९ मा नेपालमा हुने  ‘नेपाल लगानी सम्मेलन २०२४’ को लागि पनि आमन्त्रण गर्नु भयो। 


एरु एकेडिमीका अध्यक्ष केईइची हासेगावाले आफुहरुले विभिन्न देशको विद्यार्थीहरुलाई दिक्षित गरि उज्ज्वल भविष्य निर्माणमा योगदान दिदै आएको र आगामि दिनमा यो कार्यलाई अझै अगाडि बढाउन, नेपाल र जापानको सम्बन्धलाई थप मजबुत बनाउन आजको कार्यक्रमले थप प्रेरित गरेको कुरा व्यक्त गर्नु भयो। कार्यक्रमलाई एक सन्देश मार्फत क्योउदाइ रेमिट्यान्सका चेयरमेन तथा नेपाली राजदुताबास जापान फुकुओकाका वाणिज्यदूत किमोतो युइचिरोले नेपालसँगको लामो व्यवसायीक  सहकार्य सँगै सामाजिक र राष्ट्रहितमा सम्बन्धित रहेर विभिन्न माध्यमबाट सहयोग गर्न पाउँदा खुसि लागेको बताउनु भयो। 


जापानको एरु एकेडिमिका प्रमुख म्यानेजर निशिमुरा कोउजिले प्रत्यक्ष र अनलाइन मार्फत जोडिनु भएका जापानिज कम्पनिहरुलाई नेपाल तर्फको सहभागी कुनै कम्पनि तथा निकायहरुसंग जोडिएर आगामी दिनमा जापान र नेपालको लागि काम गर्न इच्छा भएमा सहजीकरण र सहयोग गरिने कार्यक्रमको व्यवस्थापकिय संयोजन गर्नु भएका क्योउदाइ रेमिट्यान्सका म्यानेजर कोसुके यामाजाकीले बताउनु भयो।

त्यसै गरि नेपाल तर्फको लागि कार्यक्रमको व्यवस्थापन संयोजन गर्नु भएका क्योउदाइ रेमिट्यान्सका म्यानेजर तथा एनआरएन जापानका विज्ञ समीतिका सदस्य नरेन्द्र बस्नेत दिनेश ले जापानमा नेपालीहरुको अवसर वृद्धिलाई सहज बनाउन यस्ता कार्यक्रमहरुले सहयोग गर्ने हुँदा नेपाल जापानको व्यवसायिक र व्यापारिक प्रबर्धनमा आफ्नो सक्दो सहयोग सदैब रहने बताउनु  भयो।

कार्यक्रमलाई नेपाली राजदुताबास ,फुकुओका अबैतानिक बाणिज्य दुताबास, मोरिकोसान कम्पनी, ओसाका पर्यटन ब्यूरो, मानव संसाधन विकास र एशिया औधोगिक व्यापार निर्माण प्लेटफर्म, कान्साइ अर्थ, व्यापार तथा उद्योग ब्यूरो, ओसाका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, ओसाका बिजनेस डेभलपमेन्ट एजेन्सी, जेट्रो ओसाका, स्टडी अब्रोड कन्सोर्टियम ओसाका, क्लबहाउस ग्लोबल रिपब्लिक, नान्काइ रेल्वे कम्पनि  लगायतको सहकार्यमा सम्पन्न गरिएको थियो। भौतिक तथा अनलाइन सेमिनार कार्यक्रममा जापान बाट ९५ र नेपाल बाट ६० भन्दा बढि कम्पनीहरु सहभागि  थिए । 


 

आइतबार​ १८ चैत २०८० ०७:५३ PM मा प्रकाशित

प्रतिक्रिया