images

विद्युत सर्टले विभिन्न ठाउँमा आगलागी, २६ लाखभन्दा बढी धनमाल नष्ट

काठमाडौं । देशका विभिन्न स्थानमा विद्युत सर्टका कारण भएको आगलागीबाट ठूलो धनमालको क्षति भएको छ । सिराहा, खोटाङ, झापा, र सर्लाहीमा भएका घटनामा करिब २६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ भने कुनै मानवीय क्षति भने नभएको नेपाल प्रहरीले बताएको छ ।  सिराहाको लहान नगरपालिका–८ स्थित मृग्रेन्द्र साहको कम्प्युटर सप्लायर्समा विद्युत सर्टका कारण बिहीबार साँझ आगलागी भएको छ । क्षतिको विवरण हालसम्म खुल्न सकेको छैन । खोटाङको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका २६ वर्षीय भूमिराज राईको घरमा दिउँसो लागेको आगोले घर पूर्ण रूपमा जलेर करिब चारलाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । झापाको गौरीगञ्ज गाउँपालिका–१ भन्सार चोकमा ६५ वर्षीय नौलसिंह थापाको गोठमा साँझ भएको आगलागीबाट गोठभित्र रहेका चौपाया, अन्नपात, भाँडावर्तन, र फर्निचर लगायतका सामग्री जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । सर्लाहीको चक्रघट्टा गाउँपालिका–७ पटेर्वाका राजकिशोर रायको घरमा राति आगलागी हुँदा करिब सात लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।


 

शुक्रबार​ १४ मंसिर २०८१ ०३:५५ PM मा प्रकाशित

प्रतिक्रिया