images

इटहरीमा विद्युतीय दाहसंस्कार स्थल बनाइने

विराटनगर । सुनसरीको इटहरीमा विद्युतीय दाहसंस्कार स्थल निर्माण गरिने भएको छ । विद्युतीय दाहसंस्कार स्थलका लागि इटहरी उपमहानगरपालिका र कोशी प्रदेश सरकारको साझेदारी रहने जनाइएको छ । बिहीबार कोशी प्रदेशका वन, पर्यटन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेती इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलको उपस्थितिमा दाहसंस्कार स्थल बनाउने निर्णय गरिएको हो । करिब ३ करोड ५० लाखको बन्ने विद्युतीय शवदाह गृहमा प्रदेश सरकारले ७० प्रतिशत र इटहरी उपमहानगरले ३० प्रतिशत लगानी गर्ने समझदारी भएको छ । विद्युतीय शवदाह निर्माण शुरु गर्नेगरी दुवै सरकारको प्रतिनिधित्वमा प्राविधिक समिति गठन गरिएको छ । इटहरी उपमहानगरपालिका–४ स्थित बुढीखोला किनारको जमुना मुक्तिघाटमा विद्युतीय दाहसंस्कार स्थल निर्माण हुनेछ । इटहरीका मेयर हेमहर्ण पौडेलले दाउरा विपन्न तथा गरिबहरुलाई महङ्गो पर्ने साथै समय धेरै लाग्ने भएपछि विद्युतीय दाहसंस्कार स्थल बनाउन लागिएको बताए । दाउरा प्रयोग गरी शव जलाउँदा २–३ घण्टा लाग्ने भएपनि यसमा भने दाहसंस्कार सुरु गरेको ४५ देखि ६० मिनेटसम्ममा लाश जलिसक्ने उनले उल्लेख गरे । मन्त्री उप्रेतीले कोशी प्रदेशमै पहिलो पटक इटहरी उपमहानगर र प्रदेश सरकारको संयुक्त लगानीमा विद्युतीय शवदाह निर्माण गर्न लागिएको बताए ।
 

बिहीबार १७ फागुन २०८० ०७:५६ PM मा प्रकाशित

प्रतिक्रिया