images

निर्माणाधिन यातायात कार्यालय अलपत्र हुन नदिइने प्रतिवद्धता

काठमाडौ । भक्तपुरको सुर्यबिनायक नगरपालिका वडां ७ स्थित हाकेडाँडामा निर्माण गर्न लागिएको यातायात कार्यालय भवन अहिले अलपत्र अवस्थामा रहेको छ । यो निर्माण कार्यलाई अगाडि बढाउनका लागि भक्तपुर क्षेत्र नं. २ का सांसद दुर्लभ थापाको संयोजकत्वमा बृहत छलफल कार्यक्रम सम्पन्न भएको छ ।
माननीय सन्तोष परियार, रमा कोईराला, प्रदेश सांसद किरण थापा, सुरेश श्रेष्ठ, नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ का क्षेत्रीय सभापति भेष बहादुर कार्की, नेपाली काग्रेसका सूर्यविनायक नगरका नगरसभापति निशान ढुँगेल लगाएतको उपस्थितिमा सम्पन्न भएको छलफलले अलपत्र अवस्थामा रहेको यातायात कार्यालयको भवन निर्माण प्रक्रियामा भएको ढिला–सुस्ती हटाउन पहल गर्ने प्रतिबद्धता गरेको छ ।

साथै यो निर्माण प्रक्रिया समयमै सम्पन्न गर्न बाग्मती प्रदेश मुख्यमन्त्री कार्यालयमा सबै राजनितिक पार्टीका तर्फबाट संयुक्त रुपमा अनुरोध गर्ने लिखित निर्णय गरेको बताएको छ ।
निर्माणका लागि ठेक्का आह्वान भई ठेकेदारलाई मोविलाइजेशन खर्च समेत भुक्तानी भईसकेको भएपनि अहिलेसम्म निर्माण कार्य अगाडि बढ्न नसकेको भन्दै माननीय दुर्लभ थापाको सचिवालयमा भएको छलफलबाट पूर्वनिर्धारित ठाँउमा नै तत्काल यातायात कार्यालय बनाउर्नेमा जोड दिएको छ ।
बागमति प्रदेश सरकारको योजनामा परेको उक्त कार्यालय निर्माण कार्य अगाडि बढ्न नसकेपछि सरोकारवाला निकायले पटक पटक सम्बन्धित मन्त्रालयको ध्यानकषर्ण समेत गराईसकेको छ । तर, श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौडाले बिभिन्न बहाना बनाएर अवरोध गर्दै आएको छ ।
उक्त मन्त्रालयले कहिले भोकाधिकार पत्र चाहियो त कहिले के भनेर आलटाल गरेको भन्दै भक्तपुर जिल्लाका सांसदहरु एकै ठाउँमा उभिएर तोकिएकै ठाउँमा यथाशिघं कार्यालय बनाउनुपर्नेमा जोड दिएका छन् । भक्तपुर जिल्लाभित्र आएका विकाश योजना र जनता लाभान्वित हुने काममा आफुँहरू जस्तोसुकै कदम चाल्नपनि पछि नपर्ने सांसदहरुको भनाई छ ।
जुन जुन पार्टी र विचार मान्ने भएपनि भक्तपुरका सम्पूर्ण जनप्रतिनिधिहरु जिल्लाको विकासमा भने एकै ठाउँमा उभिँदै आएका छन् । सबै जनप्रतिनिधि तथा नेताहरुले ‘विकासमा एकता चुनावमा प्रतिस्पर्धा’ भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दछन् । जनप्रतिनिधिहरुको यो मिलापकै कारण भक्तपुरबासी उत्साहित छन् ।

बुधबार १६ फागुन २०८० ०४:३५ PM मा प्रकाशित

प्रतिक्रिया