images

मेलम्चीमा आयोजना गरिएको स्वास्थ्य शिविरबाट ३ सय ९७ जना लाभान्वित

सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका—८, क्यौरानीस्थित जलवाई देवी माविमा आयोजना गरिएको एक दिने स्वास्थ्य शिविरबाट ३ सय ९७ जना लाभान्वित भएका छन् । शिविरमा सामान्य चिकित्सा, बालरोग, आँखा रोग, स्त्री तथा प्रसुती सेवा, मधुमेह परीक्षण, इसीजी सेवाबाट सयौं लाभान्वित भएका हुन् । शिविरमा १४ महिनाको बालिकादेखि १ सय २ वर्षका वृद्ध सम्मको स्वास्थ्य उपचार गरी आवश्यक परामर्श दिइएको थियो ।

 

साथै जरुरी भएकाहरूलाई निशुल्क चश्मा समेत वितरण गरिएको थियो । कोइराला मेडिकल हल जोरपाटी काठमाडौं, स्वर्णिम स्वास्थ्य नेपाल मूलपानी काठमाडौंको संयुक्त आयोजना र शंकरापुर अस्पताल प्रा.लि.को विज्ञ प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो । यसअघि शिविरको उद्घाटन गर्दै नगरप्रमुख आइतमान तामाङले विपन्नलाई सेवा दिने लक्ष्य सहित शिविर आयोजना गर्नेप्रति आभार व्यक्त गर्नुभयो । स्वागत मन्तव्य राख्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं शिविर स्वंम सेवक समन्वय समितिका संयोजक जलबहादुर दोङले आगामी दिनमा पनि यस्तो शिविरले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो । । शंकरापुर अस्पतालका निर्देशक डाक्टर रमेश ढकालले आगामी दिनमा मेलम्ची नगरपालिका र शंकरापुर अस्पतालबीच सहकार्य गरी मेलम्चीवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिइने जानकारी दिनुभयो । हेल्थ कन्सर्नका सिइओ डाक्टर सुवास प्याकुरेलले हेल्थ रेकर्ड सिष्टम लागू गर्न नगरपालिकालाई सुझाव दिनुभयो । कार्यक्रमको सभाध्यक्ष समेत रहनु भएका आयोजक कोइराला मेडिकल हलका संचालक विमल कोइरालाले आगामी दिनमा मेलम्चीवासीलाई शिविरहरू मार्फत अझ गुणस्तरीय सेवा दिइने प्रतिबद्धता जनाउनुभयो ।

मङ्गलबार १३ चैत २०८० ०४:१९ PM मा प्रकाशित

प्रतिक्रिया