तुलसीपुरबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना, २६ जना घाइते

 काठमाण्डौँ - पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन् । दाङको तुलसीपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३ ००१ ख २६७५ नम्बरको बस आज बिहान सडकको दाहिने किनारातर्फ पल्टिएको हो ।

बिहान करिब ५ बजे भएको दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालले जानकारी दिए । अन्य घाइतेको मलेखुस्थित राजमार्ग अस्पताल र नजिकका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

प्रहरी नायब उपरीक्षक जैसवालका अनुसार घाइते सल्यान सबेश्वरी(३ का २४ वर्षीय राजेन्द्र पुन, उनका छोरा ६ वर्षीय आशीष केसी र सल्यान जिल्ला बाघचौर नगरपालिका–१० का ५० वर्षीय मानबहादुर खड्काको अवस्था गम्भीर छ । दुर्घटना भएपछि प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।