धादिङ अस्पतालमा आजदेखि शैय्या शुल्क नलाग्ने

मलेखु - धादिङ अस्पतालले भदौ १ गतेदेखि बिरामीलाई निःशुल्क शैय्या उपलब्ध गराउन थालेको छ । आइसियु, एनआइसियु र क्याबिनबाहेक जनरल वार्डमा रहेका शैय्या बिरामीलाई निःशुल्क उपलब्ध गराएको हो ।

प्रादेशिक अस्पतालको शैय्या शुल्क निःशुल्क गराउने बागमती प्रदेश सरकारको निर्णयानुसार शैय्या निःशुल्क गराइएको अस्पतालका सूचना अधिकारी राम रिजालले बताए । दैनिक एक सय रूपैयाँ शुल्क लिँदै आएकोमा अबदेखि निःशुल्क गराइएको उनले जानकारी दिए ।

पचास शय्या स्वीकृति रहेको धादिङ अस्पतालले हाल ९० शैय्या सञ्चालन गरिरहेको छ । सूचना अधिकारी रिजालका अनुसार अहिले जनरल वार्डमा भएका ७९ वटा शैय्या निःशुल्क गरिएको छ । दुई चार दिन अघिदेखि भर्ना भएका बिरामीलाई शुल्क लिइए पनि शुक्रबारदेखि भर्ना भएका बिरामीलाई शैय्या निःशुल्क गरिएको रिजालको भनाइ छ ।

अब प्रदेशअन्तर्गत १३ जिल्लाका १३ प्रादेशिक अस्पतालमा आठ सय ११ शैय्या निःशुल्क उपलब्ध गराइने प्रदेश मन्त्रालयले जनाएको छ । त्यस्तै प्रदेशका १३ वटै आयुर्वेद केन्द्रलाई पुनःस्थापना र फिजियोथेरापी सेवा निःशुल्क गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।