दाङमा जंगली च्याउ खाँदा एकै घरका दुई जनाको मृत्यु

बुटवल - दाङको बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाएर बिरामी परेका एकै घरका दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर बिरामी भएका छन् । साउन २९ गते साँझ बंगलाचुली ४ भित्ताला जंगलबाट खोजेर ल्याएको जंगली च्याउ खाएर बिरामी परेका तीन जना मध्ये दुई जना एकै घरका आमाछोरीको मृत्यु भएको हो ।

जंगली च्याउ खाएर गम्भीर बिरामी परेकी बंगलाचुली(४ मैकुटीमा बस्दै आएकी २७ वर्षीया ईश्वरी सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो । यसअघि उनकी ११ वर्षकी छोरी अस्मिता सुनारको साउन ३१ गते मृत्यु भइसकेको छ । त्यस्तै मृतक ईश्वरी सुनारका श्रीमान् अजय सुनारको पनि स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

उनको अहिले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । मृतक ईश्वरी सुनारको एक वर्ष नपुगेका एक छोरा, आठ वर्ष र चार वर्षकी दुई छोरी रहेका छन् ।