किन र कसरी लाग्छ मुटु रोग ? बच्न के गर्ने ?

काठमाण्डौँ - आज विश्व मुटु दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।
विश्वमा पछिल्लो समय मुटु रोगबाट मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ। विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा हरेक वर्ष १ करोड ७५ लाख मानिसको मृत्यु मुटु सम्बन्धी रोगका कारण हुने गरेको छ ।

भनिन्छ, विश्वमा मृत्युको मूख्य कारणमध्ये हृदयघात पनि हो । हृदयघात जसलाई पनि, जतिबेला पनि हुनसक्छ । र, यसको सबैभन्दा बढीमा जोखिममा मुटु रोगले ग्रस्तहरु हुन सक्छन् ।
मुटुरोग लाग्ने अनेकन कारण छन् । त्यसमध्ये अस्वस्थ्यकर जीवनशैली र तनाव पनि एक हो । पछिल्लो समय मुटु रोगी बढ्नुमा यही कारण मूख्य मानिएको छ । अझ दुखलाग्दो त के छ भने, तनाव कम गर्ने वाहानामा मद्यपान, धुमपान, निद्रा लाग्ने औषधी सेवन गर्ने गरिएको छ । यसले मुटुलाई सोझै असर गर्छ ।

मुटु रोगका लक्षण

हृदयाघात भएमा वा मुटुको धमनीमा अवरोध खडा भएमा छाती दुख्नुका साथै छातीमा दवाव महसुस हुने गर्छ ।

मुटु सम्बन्धि कुनै रोग लागेमा सुरुवाती चरणमा व्यक्तिलाई वाकवाकी लाग्ने, छाती दुख्ने तथा पोल्ने, पेट पोल्ने तथा पाचन प्रक्रिया सम्बन्धि समस्या हुने गर्छ ।

मुटुमा कुनै समस्या भएमा मुटुका रोगीहरुलाई छाती तथा काँधमा पिडा हुने गर्छ । र, यो दुखाई क्रमश हाततिर सर्दै जान्छ ।

शरीरबाट अनायासै पसिना बग्नु पनि मुटु रोगको प्रमुख लक्षण हो । कुनै व्यक्तिलाई मुटु सम्बन्धि समस्या भएमा विना शरीरीक परिश्रम पनि शरीरबाट पसिना निस्कने गर्दछ ।

मुटु रोग लागेमा रुघाखोकीले लामो समय सताउनुका साथै थुक सेतो वा गुलावी हुन गर्छ । जुन हृदयाघातको एउटा लक्षण हो ।

सास लिनमा कठिनाई महसुस हुनु वा कम सास फेर्नु पनि हृदयाघातको प्रमुख लक्षण हो ।

खुट्टा तथा पैताला सुन्निनु भनेकै मुटुमा रगतको सञ्चार सही तरीकाले नहुनु हो । र, मुटुमा रक्तसञ्चार सही तरीकाले नहुनु भनेकै मुटु रोगको संकेत हो ।

कयौँ पटक चक्कर आउनु तथा टाउको घुम्नु, बेहोस हुनु तथा थकान महसुस हुनु पनि मुटु रोगको संकेत हुनसक्दछ ।

रोगबाट कसरी बच्ने ?

चिकित्सकहरुका अनुसार मुटु रोग लाग्ने प्रमुख कारण भनेको तनाव नै हो । त्यसैले, मुटु रोग लाग्नबाट बच्नका लागि सबैभन्दा पहिले तनाव कम गर्न जरुरी छ ।

त्यस्तै, नियमित व्यायाम तथा चिकित्सकको सल्लाहमा मुटु सम्बन्धि एक्सरसाइज गरेर पनि मुटु सम्बन्धि रोग लाग्नबाट बच्न सकिन्छ ।
मुटुमा अक्सिजनको प्रवाह राम्ररी नभएमा पनि मुटु सम्बन्धि रोग लाग्ने गर्छ । त्यसैले मुटुमा कुनै अवरोध आउन नदिन तथा मुटुको धमनीलाई स्वस्थ तथा खुला राख्नका लागि पनि स्वच्छ वातावरणमा लामो लामो सास फेर्न जरुरी छ । यसले पनि मुटुलाई स्वस्थ राख्न सहायता प्रदान गर्दछ ।