राजमार्ग विस्तार सुरक्षित तरिकाले गर्न निर्देशन

 काभ्रेपलाञ्चोक - अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार कार्य सुरक्षित तरिकाले गर्न निर्देशन दिइएको छ । लगातार दुई दिन दुई युवाले ज्यान गुमाएपछि उक्त निर्देशन दिइएको हो ।

निर्माणाधीन राजमार्गअन्तर्गत गत साउन ३० गते भैँसेपाटी सडकखण्डमा धुलिखेल नगरपालिका–८ का २१ वर्षीय अभिषेक न्यौपानेको मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो ।

यस्तै गत साउन ३१ गते धुलिखेलको बाँसघारी नजिकै मिरावेल चोकमा प्यूठान घर भई बनेपामा लघुवित्तमा कार्यरत २७ वर्षीय सुरज गिरीको निधन भएको थियो । दुवै जनाले चलाएका मोटरसाइकल निर्माणाधीन क्षेत्रमा ट्रक र मिनीट्रकसित ठोक्किएका थिए ।

बिहीबार प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले राजमार्ग विस्तार गर्दा दुर्घटना नहुने किसिमले काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल १५ दशमलव पाँच किलोमिटर सडकखण्ड सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक चार लेन बनाउने काम भइरहेको छ ।