images

इस्कोनको आयोजनामा भोलि रथयात्रा

विराटनगर । नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन) ले भोलि फागुन ७ गते विराटनगरमा रथयात्रा निकाल्ने भएको छ । इस्कोनको मोरङ जिल्ला समिति र विराटनगर महानगर समितिले पत्रकार सम्मेलन गरी रथयात्रा निकाल्ने तयारी पूरा भएको जनाएका छन् । इस्कोन मोरङका अध्यक्ष क्रान्तिस शर्मा र विराटनगर समितिका उपाध्यक्ष भानुभक्त जोशीले भारतको जगन्नाथ पुगेर भगवान जगन्नाथ रथयात्राको अवलोकन गर्न नसक्ने भक्तजनका लागि विराटनगरमै दर्शन एवं अवलोकन गर्ने उद्देश्यका साथ रथयात्रा निकाल्न लागिएको जानकारी गराए । रथयात्रामा दुई हजारभन्दा बढी सनातन हिन्दु धर्मावलम्बीहरूको सहभागिता रहने इस्कोनका मोरङ अध्यक्ष शर्माले बताए । पत्रकार सम्मेलनमा रथयात्रा आयोजक समितिका संयोजक, समाजसेवी गणेशप्रसाद राठी र इस्कोन विराटनगर महानगर समिति सदस्य निर्मला खत्रीको सहभागिता थियो । सोमबार बिहान १० बजे विराटनगरको रामजानकी मन्दिरबाट निस्कने रथयात्रा बजार क्षेत्र परिक्रमा गर्दै पुनः रामजानकी मन्दिरमै पुगेर समापन हुनेछ । इस्कोन नेपाल क्षेत्रका सचिव स्वामी पत्री प्रभुजीको प्रमुख आतिथ्यमा रथयात्रा निकालिने आयोजक समितिले जानकारी गराएको छ । रथयात्रापछि इस्कोनका प्रसिद्ध गुरु स्वामी पत्री प्रभुजी र नेपाली युवामाझ लोकप्रिय इन्जिनियर रुपेश्वर गौरले इस्कोनबारे आध्यात्मिक प्रवचन दिने कार्यक्रम रहेको जनाइएको छ ।
 

आइतबार​ ६ फागुन २०८० ०७:१६ PM मा प्रकाशित

प्रतिक्रिया