images

अझै किन उत्साहजनक छैन पर्यटकीय सिजन ?

पर्यटन क्षेत्रमा सेप्टेम्बर–नोभेम्बर मुख्य सिजन मानिन्छ । लामो समय अफसिजनबाट गुज्रिरहेका पर्यटन व्यवसायी जहिल्यै सिजनको पर्खाइमा हुन्छन् । कोरोना अघिसम्म व्यवसायीको पर्खाइ सुखद्मा परिणत हुन्थ्यो । तर, कोरोना पछि पर्यटन क्षेत्र सोचे जस्तो सुखद् हुन सकेको छैन । अझै पनि पर्यटन क्षेत्रले मुख्य सिजनमा समेत लय समात्न नसकेको ट्रेकिङ एजेन्सी एसोसियसन नेपाल (टान) का अध्यक्ष नीलहारी बास्तोला बताउँछन् । ‘सेप्टेम्बर–नोभेम्बरसम्म पर्यटकीय सिजन हो,’ उनी भन्छन्, ‘मुख्य सिजनमा जति पर्यटक आउनु पर्ने थियो, त्यति अझै आएको पाइँदैन । कोरोना पछि पनि पर्यटन क्षेत्र अनुमान गरे अनुसार फस्टाउन सकेको छैन ।’ तर, गत सिजनमा भन्दा यो वर्ष पर्यटकको आगमनमा वृद्धि भएको छ । पर्वतीय पर्यटनका लागि उपयुक्त सिजन सुरु भएसँगै अहिले मासिक एक लाखको हाराहारीमा पर्यटक भित्रिरहेको अध्यागमन विभागले जनाएको छ । विभागका अनुसार सन् २०२३ अक्टोबरमा एक लाख १७ हजार ३०७ पर्यटक नेपाल घुम्न आएका छन् । यो एक महिनामा नेपाल आएका पर्यटकको हालसम्मकै उच्च सङ्ख्या हो । सेप्टेम्बरमा मात्र १८६ देशबाट ९१ हजार १२ जना पर्यटक नेपाल भित्रिएका थिए । यस वर्ष पर्यटकको सङ्ख्यामा केही वृद्धि भए पनि कोरोना अघिका वर्षहरूमा जस्तो पर्यटकको सङ्ख्यामा वृद्धि हुन सकेको छैन । कोरोना अघि २०१८/१९ को वेसमा अझै पुग्न समय लाग्छ,’ टानका अध्यक्ष बास्तोला भन्छन्, ‘कोरोना अघिसम्म मुख्य सिजन (सेप्टेम्बर–नोभेम्बर) मा विदेशी पर्यटकको आगमन ह्वातै बढ्थ्यो । पर्यटक आगमनले पर्यटन क्षेत्र भिडभाड हुन्थ्यो । तर, कोरोनाले पर्यटन क्षेत्र ध्वस्त भयो ।  व्यवसाय जिरोबाट सुरु गरेका हौँ । यो अवस्थाबाट सुरु हुँदै जाँदा राम्रो हुँदै त गएको छ । तर, उत्साहित हुने अवस्था अझै छैन ।’ २०२४ देखि भने कोरोना अघिको अवस्थामा पर्यटन क्षेत्र फर्कन्छ कि भन्ने आकलन गरिएको उनी बताउँछन् । 

शुक्रबार​ १ मंसिर २०८० ०९:०९ AM मा प्रकाशित

प्रतिक्रिया