images

आगालागीमा तीन बालबालिकाको मृत्यु

विराटनगर । भोजपुरमा भएको आगलागीमा परी तीनजना बालबालिकाको मृत्यु भएको छ । हतुवागडी गाउँपालिका–७ पात्लेपानीमा आगलागी हुँदा एक बालिका र दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीबाट स्थानीय रमेश कार्कीकी ७ वर्षकी छोरी दिपशिखा, ३ वर्षीय छोरा दियनिस र स्थानीय केदार कार्कीका ६ वर्षका छोरा प्रनिशको मृत्यु भएको हो । गोठमा खेलिरहेका बेला अचानक भएको आगलागीमा परेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन । दुई दिनयता भोजपुरको जंगल क्षेत्रमा फैलिएको डढेलोका कारण स्थानीय बासिन्दा प्रभावित बनेका छन् । बस्तीसम्म आगो फैलिएर आएपछि केही घर जलेको प्रहरीले जनाएको छ । शनिबार अपराह्न र साँझ गरी मोरङ, भोजपुर र तेह्रथुममा भएका आगलागीमा ३२ वटा घरहरु जलेर नष्ट भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको उल्लेख गर्दै प्रहरीले आगलागीको मौसम सुरु भएकाले सजगता अपनाउन आग्रह गरेको छ ।
 

आइतबार​ ४ चैत २०८० ०९:५३ AM मा प्रकाशित

प्रतिक्रिया