images

दिमाग खराब’ का दर्शकसंग माफी माग्दै निर्देशक बस्नेतले किन गरे यस्तो कठोर घोषणा ?

व्यवसायिक रुपमा सफल भैरहेको निश्चल बस्नेतद्वारा निर्देशित पछिल्लो फिल्म ‘दिमाग खराब’ को निर्माण संस्थाले एउटा चुनौतीपूर्ण घोषणा गरेको छ । सिनेमा आर्ट प्राइभेट लिमिटेडले बुधवार एउटा प्रेस विज्ञप्ती जारी गर्दै सिनेमा हलले शो संख्या कम दिएको भन्दै फिल्मको प्रदर्शन नै रोक्ने घोषणा गरेको छ । फिल्मका निर्माता रौनक विक्रम कँडेल तथा निर्देशक निर्देशक निश्चल बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तीमा आज बिहीवारसम्म पनि विदेशी फिल्म बराबर शो नदिए भोलि शुक्रबारदेखि यो फिल्म प्रदर्शनमा रोक लगाउने घोषणा गरेका हुन् । विज्ञप्तीमा भनिएको छ– ‘कात्तिक २४ देखि नेपाली चलचित्र दिमाग खराव संसारभर चलिरहेको छ । दर्शकहरुको अथाह माया र सद्भाव अनि चलचित्र दिमाग खराबप्रतिको चासोका कारण दिन प्रतिदिन चलचित्र हेर्न दर्शकहरु बढिरहनु भएको छ । हामीलाई त्यो कुराले अझै जिम्वेबार बनाएको छ । र, आगामी दिनमा हामीले अझै राम्रो चलचित्र बनाउने कोसिस गर्नेछौं ।’ ‘तर, विगतदेखि हामी नेपाली चलचित्र निर्माताले चलचित्र प्रदर्शकहरुबाट सँधै अन्यायपूर्ण व्यवहार खेप्दै आएका छौं । विदेशी चलचित्रलाई विना तर्क प्रशस्तै शोहरु दिने र दर्शकको अत्याधिक चासो भएको र दर्शकहरुले हेर्न खोजेका नेपाली चलचित्रलाई पनि आवश्यक शो नदिने प्रचलन पुरानै हो, विज्ञप्तीमा भनिएको छ– ‘पहिलो र दोस्रो हप्ता निर्माता र हल संचालकमा हुने शेयर बाँडफाँड ५०-५० % प्रतिशत हुन्छ । तर तेस्रो हप्तादेखि निर्मातालाई ३५% र प्रदर्शकलाई ६५% शेयर बाँडीने कुरा पनि हामीले जाहेर गर्दछौं । र, यो अन्यायपूर्ण व्यवहार निरन्तर जारी रहेको हुनाले हामीले प्रतिवाद गर्ने निर्णय गरेका छौं । हाम्रो निर्णयले सम्मानित दर्शकहरुमा पर्न जाने असुविधाप्रति हामी क्षमाप्रार्थि छौं । हामीले चाहेको समान व्यवहार हो र जबसम्म विदेशी चलचित्र र नेपाली चलचित्रलाई बराबर शो प्रदान गरिदैन र फिल्म प्रदर्शन भइरहुन्जेल बराबरी शेयर बाँडफाँड हुँदैन तबसम्मको लागि नेपालमा चलचित्र प्रर्दशन रोक्ने निर्णय गरेका छौं । समान व्यवहार भए सिनेमा हलमै प्रदर्शन गर्नेछौँ नभए अरु कुनै माध्यमबाट हाम्रो सिनेमा दिमाग खराव दर्शकहरुलाई देखाउने छौं भन्ने प्रतिवद्धता पनि व्यक्त गर्दछौँ ।’ दिमाग खराबको निर्माण संस्थाबाट शुक्रवारदेखि फिल्म प्रदर्शन नहुने घोषणा गरिए पनि प्रदर्शकहरुले भने यसबारेमा कुनै पनि प्रतिक्रिया जनाएका छैनन् ।

बिहीबार ३० कात्तिक २०८० ०९:१९ AM मा प्रकाशित

प्रतिक्रिया