बैंक तथा वित्तीय संस्था सङ्घर्ष समितिको आन्दोलन फिर्ता

काठमाडौं - चर्को ब्याजदरका विरुद्ध आन्दोलनरत व्यवसायीले आफ्नो विरोधका कार्यक्रम फिर्ता लिएका छन् । बैंक तथा वित्तीय समस्या सङ्घर्ष समिति बनाएर पछिल्लो चार दिनदेखि विरोधमा रहेका व्यवसायीले आज प्रधानमन्त्रीसँगको भेटपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् ।

मङ्गलबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग छलफलपछि व्यवसायीले आन्दोलन फिर्ता लिएको नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए । अहिलेको समस्यालाई सरकारले गम्भीरताका साथ लिएको र समाधानका लागि पहल गर्ने आश्वासन प्रधानमन्त्रीबाट आएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको श्रेष्ठले बताए ।

“बजारमा देखिएका समस्या र हामीले उठाएका मागबारे प्रधानमन्त्री आफैँ जानकार हुनुहुन्छ । ती विषयलाई गम्भीरतापूर्वक लिएको र ब्याजदर घटाउनका लागि सरकारले पहल गर्ने प्रधानमन्त्रीको आश्वासनपछि हामीले सबै विरोधका कार्यक्रम आजैदेखि फिर्ता लिएका छौँ”, श्रेष्ठले भने ।