विषाक्त खानाले मर्ने गिद्धको सङ्ख्या ६ पुग्यो

कावासोती - पूर्वी नवलपरासीको कावासोतीमा विषाक्त सिनो खाएर मर्ने गिद्धको सङ्ख्या ६ पुगेको छ । साथै चार वटा बिरामी गिद्धलाई उद्धार गरेर कावासोती १३ मा रहेको जटायु रेष्टुराँमा उपचार गरिएको छ ।

मर्ने सबै गिद्ध लोपोन्मुख डङ्गर प्रजातीका हुन्। कावासोती नगरपालिका–३ नजिकै रहेको ज्योतिकुञ्ज सामुदायिक वन र अङ्कुर सामुदायिक वन क्षेत्र आसपास केरुङ्गे खोला नजिकै मृत अवस्थामा गिद्धहरु फेला परेपछि स्थानीयले प्रहरी र डिभिजन वन कार्यालयमा खबर गरेका थिए ।

गिद्ध मरेको खबर पाएलगत्तै घटनास्थलमा राष्ट्रिय प्राकृतिक संरक्षण कोषका चरा विशेषज्ञ चिकित्सक डा विकल्प कार्कीको नेतृत्वमा प्राविधिकको टोली पुगेर बिरामी गिद्धको प्राथमिक उपचार गरेको थियो।

प्राथमिक उपचारपछि बिरामी गिद्धलाई जटायु रेष्टुराँमा ल्याएर थप उपचार गरिएको र गिद्धको स्वास्थ्यमा उल्लेखीय सुधार आएको डाक्टर कार्कीले बताएका छन् । मरेका गिद्धको पोस्टर्माटम गर्दा पेटमा स्यालको सिनो भेटिएको थियो। विषाक्त खाना खाएर मरेको स्यालको सिनो खाएपछि गिद्ध मरेको प्रारम्भिक अनुसन्धानले देखाएको डा कार्कीको भनाइ छ ।