रासायनिक मलको मूल्य तीन चौथाइले बढ्यो, सरकारी अनुदान कटौती

काठमाण्डौँ - मुख्य बाली खेतीपातीको मौसम शुरू हुन लाग्दा सरकारले रासायनिक मलको मूल्य अत्यधिक बढाएको छ ।

रासायनिक मल आयातमा सरकारले दिने अनुदान रकम घटाएर बजार मूल्य बढाउने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।  युरिया मलको मूल्य तीन चौथाइले करीब ७८ प्रतिशत बढाइएको छ भने डीएपी र पोटासको मूल्य क्रमशः १६ र २९ प्रतिशतले बढेको छ ।

कृषि मन्त्रीको विभागीय निर्णय अनुसार, मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको फागुन २९ गतेको बैठकले आयात बिन्दुमा युरियाको बिक्री मूल्य प्रतिकेजी २५ रुपैयाँ पुर्‍याएको छ । यसअघि प्रतिकेजी १४ रुपैयाँ मात्रै थियो ।

नेपालमा आयात हुने रासायनिक मलमध्ये युरिया मलको हिस्सा ५६ प्रतिशत छ । नाइट्रोजन लगायत तत्त्व हुने धान, मकै जस्ता प्रमुख बालीका लागि युरिया मल प्रयोग हुन्छ । युरिया मलको मूल्य बढ्ने बित्तिकै यस्ता प्रमुख बालीको उत्पादन लागत बढ्न जान्छ, जसले अन्ततोगत्वा बजार मूल्य बढाउँछ ।

त्यसैगरी, डीएपी मलको मूल्य प्रतिकेजी ५० रुपैयाँ पुर्‍याइएको छ, जुन यसअघि ४३ मात्रै थियो । पोटास मलको मूल्य पनि प्रतिकेजी ३१ बाट बढाएर ४० पुर्‍याइएको छ । नेपालमा कुल आयात हुने रासायनिक मलमध्ये डीएपीको हिस्सा ४२ प्रतिशत र पोटासको हिस्सा दुई प्रतिशत छ । डीएपीमा हुने नाइट्रोजन र फोस्फरस तत्त्व कैयौं प्रकारका बालीका लागि आधारभूत पोषक तत्त्व हो ।

सरकारले यी रासायनिक मलमा दिंदै आएको अनुदान घटाएका कारण यसअघिको भन्दा बढी मूल्य तिर्नुपर्ने भएको छ । यसअघि युरिया मलमा सरकारले ८० प्रतिशत अनुदान दिंदै आएको थियो। तर, यो अनुदानलाई घटाएर ६४.५ प्रतिशतमा झार्ने निर्णय गरिएको हो ।

त्यसैगरी, डीएपी मलमा यसअघि दिइएको ५९ प्रतिशतको अनुदानलाई घटाएर ५२.४ प्रतिशतमा झारिएको छ । पोटासमा यसअघि दिइएको ५८ प्रतिशत अनुदानलाई ४६ प्रतिशतमा झारिएको छ ।