६१ किलो सुन प्रकरण : ३२ जना पक्राउ, दावाकी श्रीमती कमलासहित १८ फरार

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ६१ किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएर अनुसन्धान सकाएको छ । अनुसन्धानको क्रममा सीआईबीले ३२ जनालाई पक्राउ गरेको छ । १८ जना फरार रहेका छन् । फरार रहनेमा पक्राउ परेका दावा छिरिङकी श्रीमती कमला रोकासहित अन्य रहेका छन् ।

सीआईबीले उक्त प्रकरणमा अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउन लागेको हो । अहिले सीआईबीले कार्यालय परिसरमा पत्रकार सम्मेलन गरेर प्रतिवेदनबारे जानकारी गराई सरकारी वकिललाई बुझाउन लागेको हो ।

आरोपीविरुद्ध संगठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिने सीआईबीको तयारी छ । संगठित अपराध कसुरमा म्याद थप गरिएकाले त्यसको अनुसन्धानको मिति ६० दिनको हुन्छ । यही ३१ गते ६० दिन पुग्ने भएकाले सो मितिसम्ममा मुद्दा अदालतमा पुर्याइसक्नुपर्ने हुन्छ ।

पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक पनि रहेका छन् । उक्त प्रकरणमा भन्सार एजेन्ट र सुन व्यापारीसमेत मुछिएका छन् ।

गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामंगलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । 

विभागले आवश्यक अनुसन्धान सकेपछि १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिएको थियो । ब्रेक शुसहितको सुन १५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो ७१६ ग्राम फेला परेको थियो ।