images

संसारकै लामो पोखरा–मुक्तिनाथ केवलकारको डिपीआर तयार, ५५ अर्ब खर्च हुने अनुमान

काठमाडौं । पोखरादेखि मुक्तिनाथसम्म यात्रुवाहक केवलकार निर्माण गर्न वातावरणीय प्रभाव मूल्यांकनसहितको विस्तृत अध्ययन प्रतिवेदन  (डिपीआर) तयार भएको छ । मुक्तिनाथ दर्शन प्रालिले बुधबार केवलकार निर्माणका लागि तयार गरिएको अध्यावधिक डिपीआर लगानी बोर्डमा बुझाएको छ । 
सो प्रतिवेदन अनुासर कास्कीको सेराबेसीबाट मुस्ताङको मुक्तिनाथ मन्दिर नजिकै रानीपौवासम्म ८१।०१४ किलोमिटर केवलकार बन्नेछ । यदि यो केवलकार निर्माण भए नेपालमा मात्रै होइन, संसारकै सबैभन्दा लामो यात्रुवाहक केवलकार बन्नेछ । 
मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले संसारकै लामो केवलकारको नयाँ डिपीआर तयार गरी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई बुझाएको बताए । डिपीआरमा केवलकार निर्माणका लागि ५५ अर्ब १८ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । 
जबकि साढे पाँच वर्षअघि सरकार र मुक्तिनाथ दर्शन प्रालिबीच भएको समझदारीमा ३९ अर्ब २० करोड लागत अनुमान गरिएको थियो । 
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरादेखि मुक्तिनाथसम्म नेपालकै ठूलो यस परियोजना सञ्चालनका लागि अनुमति दिएका थिए । त्यही बेला सरकारले मुक्तिनाथ दर्शन प्रालिलाई डिपीआर र वातावरणीय प्रभाव मूल्यांकन ९इआईए०का लागि जिम्मेवारी दिएका थिए । तर कानूनी समस्या भएका कारण काममा ढिलाई भएको सो कम्पनीका अध्यक्ष सुवेदीले बताए । 
उनले कानूनी जटिलता र कार्यविधिको अभावमा वन तथा वातावरण मन्त्रालयले सहमति नदिँदा इआईएको प्रक्रिया रोकिएकोमा अब निमार्णका लागि बाटो खुल्ने विश्वास व्यक्त गरे । 
अध्यक्ष सुवेदीले यसअघि नै पेस गरिएका दस्तावेजहरू कानूनी जटिलताका कारण पास हुन नसकेपछि लगानी बोर्डमा पुनः दुवै दस्तावेज पेश गरिएको बताए । 
भारतको के एण्ड आर इन्जिनियरिङ लिमिटेडले केवलकार परियोजना निर्माणका साथै लगानीसमेत गर्ने गरी इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी ९ईपीसीएफ० मोडलमा केवलकार बनाउने भएको हो । मुक्तिनाथ दर्शन प्रालिका अध्यक्ष सुवेदी भौगोलिक जटिलताका कारण सर्वेक्षणमा समस्या भएकाले परियोजनाको सर्वेक्षणमै ४० करोड रुपैयाँ खर्च भइसकेको दाबी गर्छन् । 

नेपालमा कहाँ कसरी चलेका छन् केवलकार ?
नेपालमा सर्वप्रथम २०५५ सालमा मनकामना केवलकार सञ्चालनमा आएको थियो । उक्त केवलकारको उद्घाटन २०५५ साल मंसिर ८ गते तत्कालिन युवराज दिपेन्द्र शाहले गरेका थिए । मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आएको यो केवलकारमा अहिले ३४ वटा (डब्बा) गोण्डला सञ्चालनमा छन् । 
चितवनको कुरिनटारबाट गोरखाको मनकामनासम्म चल्ने यो केवलकारले नेपालको प्रख्यात मन्दिर मनकामनाको दर्शनलाई सहज बनाएको छ । यसको लम्बाई ३।०२ किलोमिटर रहेको छ 
नेपालको दोस्रो केवलकार परियोजनाका रुपमा ३० मंसिर २०७३ मा चन्द्रागिरि केवलकार व्यवसायिक रुपमा सञ्चालनमा आएको थियो ।  वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक प्रधानमन्त्री भएका बेला यो परियोजनाको उद्घाटन गरेका थिए।  
काठमाडौंको थानकोटमा रहेको बेस स्टेशनबाट ९ देखि १४ मिनेटको यात्रापछि चन्द्रागिरि डाँडामा रहेको टप स्टेशनमा पुग्न सकिन्छ । यस केवलकारमा जम्मा ३८ वटा गोण्डला जडान गरीएका छन् । 
त्यस्तै, दोलखाको कालिञ्चोक गाउँपालिकामा सञ्चालनरत कालिन्चोक केवलकार परियोजना नेपालको तेस्रो केवलकार परियोजना हो । १७ कात्तिक २०७५ देखि व्यवसायिक रुपमा सञ्चालनमा आएको यो परियोजनाको तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ सालमा औपचारिक उद्घाटन गरेका हुन् । यसमा ४ गोण्डला मात्र रहेका छन् । 
त्यस्तैगरी, २०७८ फागुनबाट व्यवसायिक रुपमा सञ्चालनमा आएको अन्नपूर्ण केवलकार नेपालको चौथो केवलकार परियोजना हो । कास्कीको पोखरा महानगरपालिका–१८ स्थित सेदीबाट सराङकोटसम्म यो केवलकार सञ्चालनमा रहेको छ । यसको लम्बाई २।१६ किलोमिटर रहेको छ ।  
नेपालको पाँचौं केवलकार परियोजनाका रुपमा मौलाकाली केवलकार सञ्चालनमा आएको हो । केवलकार गत वैशाख १८ गते प्रधानमन्त्री दाहालले उद्घाटन गरेका हुन् । १२ सय मिटर लामो यो केवलकारमा १४ वटा गोण्डला छन् ।
 

शुक्रबार​ २७ पुस २०८० ०८:१२ AM मा प्रकाशित

प्रतिक्रिया