images

महिला सशक्तिकरणको कथामा ‘चल्ने हावालाई’

काठमाडौं । महिला सशक्तिकरणको विषयलाई समेटेर निर्देशक संगीता श्रेष्ठले म्युजिकल फिल्म ‘चल्ने हावालाई’ निर्माण गरेकी छन् । ललितपुरस्थित युनाइटेड एकेडेमीमा शनिबार उपसभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यतामा १२ मिनेट लामो फिल्म सार्वजनिक गरियो । फिल्म हेरेपछि उपसभामुख रानाले बाल्यकालको स्मरण गर्दै फिल्मको प्रशंसा गरिन् । ‘म आफैँ पनि बाल्यकालमा निकै संघर्ष गरेर स्कुल पुगेकी थिएँ । तर, मैले आफ्नो मेहनतले वर्षौदेखि स्कुल गइरहेका भन्दा बढी नम्बर ल्याएर स्कुल टप गरे । हामीले आफ्नो उदेश्य र त्यसलाई प्राप्त गर्न संघर्ष छोड्नु हुँदैन’, उपसभामुख रानाले भनिन् । उनले यस्ता म्युजिकल फिल्ममार्फत छोरीलाई गरिने विभेदलाई कम गर्न सचेतनाको सन्देश प्रवाह हुने बताइन् । उपसभामुख मगरले आफ्नो बाल्यकालको संघर्ष, काठमाडौं आएपछिको अवस्था र अहिलेसम्मको यात्रा कुनै फिल्म भन्दा कम नभएको भन्दै निर्देशक श्रेष्ठलाई अझ बढी प्रेरणादायी लघु चलचित्र निर्माण गर्न आग्रह गरिन् । निर्देशक श्रेष्ठले ‘चल्ने हावालाई’ मार्फत छोरीहरूलाई छोराझैँ समान रुपमा हेर्न र बुझ्न आग्रह गरिएको बताइन् । ‘हामी छोरालाई दिने अवसर किन छोरीलाई दिन सक्दैनौँ ? के उनीहरूमा योग्यता छैन र ? कि हाम्रो सोच नै अयोग्य छ ? यस्ता विषयमा सोच्नु पर्ने समय आएको छ’, निर्देशक श्रेष्ठले भनिन् । श्रेष्ठले गीत सुनेपछि यसको शब्द अनुसार एउटा कथा फुरेपछि म्युजिकल फिल्मको रुपमा तयार गरेको खुलाइन् । म्युजिकल फिल्ममा बाल कलाकार तथा निर्देशक श्रेष्ठकी छोरी सम्मृद्धि श्रेष्ठ, सञ्चिता लुइँटेल, बेनिशा हमाल, गजित विष्ट, सोनिका बास्तोला, थमन सिंह पुर्जा, क्रिस केसीलगायतका कलाकारले अभिनय गरेका छन् । सरु पराजुलीको स्वर तथा शिव चम्लागाईको शब्द र संगीत रहेको गीतमा बेनिशाले पाइलट बन्ने सपना पुरा गर्न गरेको संघर्षलाई देखाईएको छ । भिडियो निर्माणमा नेपाली सेनाले विशेष सहयोग गरेको निर्देशक श्रेष्ठले जानकारी दिइन् । गायिका पराजुलीले लोक गीत, आधुनिक गीत, पप गीत, राष्ट्रिय गीत, नेवारी गीत, तिज गीत र भजनसहित हालसम्म करिब दुई सय गीतमा स्वर दिइसकेकी छिन् । उनको ‘सुरभी’, ‘मनन’ ‘नमन’ एलबम बजारमा आइसकेका छन् । ‘चल्ने हावालाई’ गायिका पराजुलीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । 
 

आइतबार​ २१ माघ २०८० ०८:३० AM मा प्रकाशित

प्रतिक्रिया