इन्जाको अन्तर्राष्ट्रिय सम्मेलन टोकियोमा सुरु

जापान, टोकियो  । जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले सम्मेलनको उद्घाटन गर्दै नेपाल र जापानबीच रही आएको सम्बन्धलाई थप सुदृढ तुल्याउने कार्यमा योगदान पुर्याउन पत्रकारहरुलाई आह्वान गर्नुभएको छ ।

 

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)को अन्तर्राष्टिय सम्मेलन २०२४ को समुदघाटन गर्दै राजदूत सुवेदीले सो कुरा बताउनु भएको हो। इन्जाले अप्ठ्यारोमा परेका पत्रकारहरुलाई गर्दै आइरहेको सहयोग तथा नेपालीपन र नेपाली मन बचाउने कार्यमा पुर्याएको योगदान आदरणीय र उदाहरणीय रहेको बताउनुभयो । उहाँले इन्जाको पवित्र उद्देश्य, एकता र सत्कार्यमा योगदान पुर्याउन अन्य संघसंस्थाहरुलाई आग्रह गर्नुभयो ।

नेपालको स्वास्थ्य, शिक्षा, पूर्वाधार, विद्युत, सडक, विमानस्थल, सञ्चारलगायतका क्षेत्रमा निःस्वार्थरुपले जापानले गर्दै आइरहेको सहयोगको उच्च मुल्यांकन गर्दै उहाँले जनस्तरमा समेत सम्बन्ध विस्तार हुँदै गइरहेको धारणा व्यक्त गर्नुभयो । विश्वभर रहेको पत्रकारहरुबीच इन्जाले समन्वय र सहकार्य गरिरहेको सन्दर्भमा यसको दृष्टिकोण र लक्षअनुरुपको योजनालाई प्राथमिकतामा राखी काम गर्न आग्रह गर्नुभयो ।

नेपालमा पत्रकारिताको अध्ययन र श्रीवृद्धिका लागि नेपाल पत्रकार महासंघसँगको सहकार्यमा विश्वभरिका पत्रकार पत्रकारको क्षमता र दक्षता अभिवृद्धिका लागि इन्जाले काम गरिरहेको उहाँले उल्लेख गर्नुभयो । इन्जा मुख्यालयका वरिष्ठ उपाध्यक्ष विष्णु शीतल, सचिव दीपक रिजाल, केन्द्रीय सदस्य रीता सापकोटा, एशिया शाखाका अध्यक्ष टंक पन्त, उपाध्यक्ष आनन्द कोइराला, एनआरएनए एशिया च्याप्टरका उपाध्यक्ष दीपक कँडेल, जापान मनि एक्सप्रेसका अध्यक्ष ओम गुरुंग, लेखन कुञ्ज नेपालका अध्यक्ष कमल ढकाललगायतले नेपाल जापानबीचको सम्बन्ध र इन्जाले पत्रकारिताका माध्यमबाट विश्वभरका पत्रकारहरुलाई गोलबद्ध गर्न पुर्याइरहेको योगदानका विभिन्न पक्षबारे चर्चा गर्नुभयो ।

सन् २०१८ मा स्थापित इन्जाको अमेरिकामा मुख्यालय रहेको छ भने हरेक महादेशमा शाखाहरु स्थापना गरी समस्यामा परेका नेपालका पत्रकारहरुलाई उपचारलगायतआवश्यक सहयोग गर्दै आइरहेको छ । पत्रकारिताको विभिन्न विधामा हरेक वर्ष पुरस्कार प्रदान गर्दै आइरहेको इन्जाले कोभिड १९ महामारीका बेला आर्थिक सहयोगका लागि नेपालका एक सय पत्रकारहरुलाई फेलोसिप प्रदान गरेको थियो ।

दोश्रो चरणको कार्यक्रम अन्तगत जापानी संचारकर्मीहरूसंग अन्तक्रिया गरेको थियो। सो अवसरमा एनएचके अन्तराष्ट्रिय विभागका ओहारा तोरू, क्योदो समाचारका कोएकी सिनिची, कानागावा राज्यका सल्लाहकार जीज्ञानकुमार थापा, नेपाल पत्रकार महासंघ जापानका संस्थापक अध्यक्ष तिलक मल्ल, निवर्तमान अध्यक्ष मोहन घले लगायतले जापानमा प्रवास पत्रकारिता बारेमा बोल्नु भएको थियो।

तीन दिनसम्म चल्ने सम्मेलनमा नेपालबाट इन्जाका केन्द्रिय सदस्य ध्रुव पौडेल, बिनेश खनाल, इन्जा एसियाका सदस्यहरु भगवती तिमिल्सिना, कृष्णा पौडेल, सिर्जना ढकाल, काजीराम पियालगायतको सहभागी रहेको छ ।