images

प्रधानमन्त्री दाहालले शुक्रवार महासंघको २५ औं साधारण सभाको उद्घाटन गर्दै, साधारण सभाको तयारी पूरा

चैत्र १५, काठमाडौं । शुक्रवारबाट शुरु हुने नेपाल निर्माण व्यवसायी महासंघको २५ औं साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको छ । शुक्रवार हेटौडामा पत्रकार सम्मेलन आयोजना गर्दै महासंघका अध्यक्ष रवि सिंहले शनिवार सम्म चल्ने साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनु भएको हो । मकवानपुर निर्माण व्यवसायी संघको सह—आयोजनामा हुन लागेको साधारण सभाको उद्घाटन सत्रको सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समुद्घाटन गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ । उद्घाटन सत्रमा उपप्रधानमन्त्री एवं भौतिक, पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ, शहरी विकास मन्त्री धनबहादुर बुढा, वागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जमकट्टेल लगायत विशिष्ट अतिथिको रुपमा सहभागी हुनुहुनेछ । साधारण सभामा देशभरबाट करीब ११ सय प्रतिनिधि र ५ सय पर्यवेक्षक सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । उद्घाटन सत्रमा  प्रधानमन्त्रीले निर्माण क्षेत्रमा केन्द्रीत रही विज्ञहरूको लेख रचना एवं महासंघका गतिविधि समेटिएको  ‘निर्माण विशेषाङ्क’ स्मारिकाको विमोचन गर्ने कार्यक्रम तय गरिएको छ । निर्माण उद्योगको विकास विस्तारमा महत्वपूर्ण योगदान दिने अग्रज निर्माण व्यवसायीहरूलाई साधारण सभाको उद्घाटन सत्रमा सम्मान गरिने महासंघले जनाएको छ ।  साधारण सभा सम्पन्न गर्नका लागि महासंघका अध्यक्ष रवि सिंहको अध्यक्षतामा मूल आयोजक समिति र यस मातहत विभिन्न उपसमितिहरू गठन गरिएका छन् । साधारण सभास्थलमा निर्माण कम्पनीसँग सम्बन्धित् २४ वटा स्टलहरू पनि राखिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । २५ औं साधारण सभा मुलुकका समस्त निर्माण व्यवसायीहरूको सीप, दक्षता, क्षमता र गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण सावित हुने विश्वास महासंघले लिएको छ । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधन आउनु सकारात्मक भएको प्रतिक्रिया दिनुभयो । तर म्याद थपले मात्र निर्माण उद्योगमा देखिएको समस्या समाधान नहुने भन्दै उहाँले निर्माण उद्योग मैत्री ऐन कानून आजको आवश्यकता भएको बताउनुभयो । सरकारले अब व्यवसायीहरूलाई बाँकी रहेको भुक्तानी दिई अर्थतन्त्र चलायमान बनाउनुपर्ने अध्यक्षको सिंहको भनाइ थियो ।

महासंघका सल्लाहकार समेत रहनु भएका पूर्व अध्यक्ष जयराम लामिछानेले निर्माण उद्योगको समस्यालाई राज्य, संचार जगत कसैले बुझ्न नसकेको बताउनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी) ले म्याद थप हुँदा व्यवसायीलाई नै घाटा हुने भन्दै म्याद थपलाई उपहारको नबुझ्न सञ्चार जगत समक्ष आग्रह गर्नुभयो । निर्माण उद्योगमा देखिएको चुनौतिका बारेमा घनिभूत छलफल गर्दै निर्माण उद्योगको विकास विस्तारका लागि साधारण सभाले गरेका महत्वपूर्ण निर्णयहरू लिपिवद्ध गर्दै घोषणा पत्र जारी गरिने महासंघका महासचिव रोशन दाहालले जानकारी दिनुभयो । महासंघका प्रवक्ता समेत रहनु भएका नीतिगत उपमहासचिव शिवहरि घिमिरेले उद्योगको पनि ‘उद्योग’ को रुपमा निर्माण उद्योग सबल भएमात्र राष्ट्रको वास्तविक विकास हुने बताउनुभयो । 

 

बिहीबार १५ चैत २०८० ०६:१८ PM मा प्रकाशित

प्रतिक्रिया