
काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला तथा विश्व बैंकका उच्च अधिकारीसहितको टोलीले आज नागढुंगा सुरुङमार्गको अनुगमन गरेको छ ।
मन्त्री ज्वालाले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिएका लिनुभएको थियो। निर्माणको काम गर्न धेरै बाँकी रहेकै बेला स्थलगत अनुगमनमा पुग्नु भएका भौतिक मन्त्री प्रकाश ज्वालाले एक वर्ष भित्रमा गाडी चलाउने गरी काम अघि बढाउने बताउनु भयो ।
आउँदो दशैँसम्म मुख्य टनेल जोडिसक्ने र रेस्क्यु टनेल छिट्टै जोड्ने तयारी रहेको र सुरुङमार्गको मुख्य टनेल ६ सय मिटर र रेस्क्यु टनेल दुई सय मिटर खन्न बाँकी छ। आउँदो डेढ वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्ररूपमा अघि बढाइएको सुरुङमार्गको कन्सल्ट्यान्टतर्फका इञ्जीनियर रमेश कोइरालाले बताउनु भयो ।
मन्त्री सहितको टोलीले आजै नागढुंगा–मुग्लिन सडक विस्तार आयोजनाको कामका बारेमा समेत स्थलगत अनुगमन गरेको हो।
टोलीले मुग्लिनसम्म पुगेर सडकको अवस्थाबारे जानकारी लिने बताइएको छ। अनुगमन टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको समेत सहभागिता रहेको छ ।
२०७६ कात्तिकमा शिलान्यास गरेको सुरुङमार्गको लम्बाई दुई दशमलव ६८ किलोमिटर छ। तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते नागढुंगा–नौबिसे सुरुङमार्गको शिलान्यास गर्नु भएको थियो। शिलान्यास भएको करिब १४ महिनापछि मात्रै सुरुङ खन्न सुरु गरिएको थियो । सुरुङमार्गको कुल लम्बाइ २.६८ किलोमिटर हुनेछ ।