
काठमाडौँ । राष्ट्र बैंकले नीतिगत दरलाई सात प्रतिशतमा यथावत् राख्दै विद्यमान बैङ्क दरलाई एक प्रतिशत बिन्दुले घटाएर सात दशमलव पाँच प्रतिशत कायम गरेको हो । ब्याजदर करिडोर अन्तर्गतका अन्य दरलाई भने यथावत् राखिएको राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंकदर एक प्रतिशत बिन्दुले घटाएको छ ।
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत केही मौद्रिक व्यवस्था खुकुलो बनाइएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले साढे आठ प्रतिशतको बैंकदरमा उपलब्ध गराउँदै आएको दैनिक तरलता सुविधालाई अर्धवार्षिक समीक्षादेखि नीतिगत दर सात प्रतिशतमा उपलब्ध गराउने व्यवस्था गरेकाले अहिले अन्तरबैंक ब्याजदरमा एक दशमलव पाँच प्रतिशत बिन्दुले कमी आएको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबाट दैनिक तरलता सुविधालाई नीतिगत दरमा प्रदान गरिने व्यवस्थामा निरन्तरता दिइएको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति खुकुलो हुनुपर्नेमा जोड दिँदै आएका थिए। मौद्रिक नीति खुकुलो भएपछि ब्याजदर सस्तो भई लगानीमैत्री वातावरण तयार भई अर्थतन्त्र चलायमान हुने अर्थमन्त्री डा। महतको जिकिर थियो। उनको मागलाई पनि मौद्रिक नीति समीक्षाले सम्बोधन गरेको छ।
बैङ्क तथा वित्तीय संस्थाबाट जारी भएका ऋणपत्रलाई कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) गणना गर्ने प्रयोजनका लागि स्रोत (निक्षेप) को रुपमा समेत गणना गर्न पाउने विद्यमान व्यवस्थालाई २०८० पुस मसान्तसम्मको लागि निरन्तरता दिइएको छ । “मौद्रिक नीतिको कार्यदिशालाई मुद्रास्फीति र विदेशी विनिमय सञ्चितिको वर्तमान अवस्था र सम्भावित परिदृश्यको आधारमा समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आन्तरिक आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पु¥याउने गरी सजगतापूर्वक केही लचिलो बनाइएको छ”, राष्ट्र बैंकले भनेको छ ।