
संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै
आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने र जेतमान तुम्बाहाम्फेको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।
ए डिभ्जिन लिगः आज तीन खेल हुँदै
शहीद स्मारक ए डिभ्जिन लिग अन्तर्गत आज तीन खेल हुँदैछन् । दुई खेल दिउँसो २ बजेबाट शुरु हुनेछ भने एक खेल साँझ ५ः४५ बजेबाट शुरु हुनेछ । आजका तीन खेलमध्ये दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र संकटा क्लवबीच प्रतिष्पर्धा हुनेछ । यस्तै रंगशालामा हुने दोस्रो खेलमा मनाङ मस्र्यायाङ्दी क्लव र रोयल ब्लु सातदोबाटो क्लवबीच प्रतिष्पर्धा हुनेछ । च्यासल मैदानमा एपीएफ क्लव र हिमालयन शेर्पाबीच खेल हुनेछ ।
उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि आज मतदान हुने
नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि आज निर्वाचन हुँदैछ । मतदान बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । महासंघको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेका छन् । जसकारण अब १ वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चयन गर्न मतदान हुनेछ । महासंघको विधानतः हाल वरिष्ठ उपाध्यक्ष रहनुभएका चन्द्रप्रसाद ढकाल ३० चैतदेखि स्वतः महासंघको अध्यक्ष बन्नुहुनेछ ।