
रास्वपा अनुशासन आयोगको बैठकः बसुन्धारा, ११ बजे
आज राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी कार्यालयमा बस्न लागेको हो । सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’का बारेमा छानबिन गर्न बैठक बस्न लागेको हो । सांसद श्रेष्ठले सोमवार बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर केन्द्रिय समितिलाई सिफारिस गर्नेछ । सो सिफारिसका आधारमा उनीमाथि के कस्तो कारबाही हुने ? त्यसका बारेमा केन्द्रिय समितिले निर्णय लिनेछ ।
ए डिभिजन लिगः दुई खेल हुँदै
शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन् । लिगको आठौं चरण अन्तर्गत मंगलवार एन्फा कम्प्लेक्स र च्यासल मैदानमा एकएक खेल हुनेछ । दुवै खेल दिउँसो २ बजबोट शुरु हुनेछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लव र त्रिभुवन आर्मी क्लवबीच प्रतिष्पर्धा हुनेछ । त्यस्तै च्यासल मैदानमा साविक विजेता मच्छिन्द्र फुटबल क्लव र एफसी खुमलटारबीच प्रतिष्पर्धा हुनेछ ।
आजको मौसम
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी भु–भागहरुका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको छ ।
मिटरब्याज पीडित र सरकारी टोलीको वार्ता
न्याय माग गर्दै विभिन्न जिल्लाबाट काठमाडौं आएका मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आज तेस्रो दिन पनि वार्ता हुने भएको छ । दुई दिनसम्म भएको वार्तामा सहमति नजुटेपछि आज तेस्रो दिन पनि वार्ता निरन्तर जारी रहने भएको हो । आजको वार्ता बिहान ११ बजेबाट गृह मन्त्रालयमा शुरु हुनेछ । मिटरब्याजपीडित र सरकारी टोलीबीच गत आईतवारदेखि लगातार वार्ता जारी छ ।