
संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै
संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । दुवै सदनको बैठक आज दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आ.व. २०७८÷०७९ पेस गर्नुहुने, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त सार्वजनिक सेवा प्रशारण विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुनेछ । त्यस्तै राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७८÷०७९, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ३२ औं वार्षिक प्रतिवेदन, २०७८÷०७९ पेस गर्नुहुनेछ । त्यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी थापा रावल (पार्वती) ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५÷०७६,०७६÷०७७ र ०७७÷०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन, २०७९ माथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन), विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन), विधेयक, २०७६ पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने, भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूचि रहेको छ ।
ए डिभिजन लिगः आज तीन खेल हुँदै
शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सोमवार तीन खेल हुँदैछन् । आज दशरथ रंगशालामा दुई र एक खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा चर्च ब्वाइज युनाईटेड र विभागीय टोली एपीएफ क्लवबीच प्रतिष्पर्धा हुनेछ । चर्च ब्वाइज र एपीएफबीचको खेल दिउँसो २ बजे शुरु हुनेछ । त्यस्तै आज नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा फ्रेण्ड्स क्लव र नेपाल पुलिस क्लव भिड्नेछन् । खेल दिउँसो २ बजे शुरु हुनेछ ।रंगशालामा नै हुने आजको दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लव र थ्री स्टार क्लवबीच प्रतिष्पर्धा हुनेछ । मनाङ र थ्री स्टारबीचको खेल साँझ ५ः४५ बजे शुरु हुनेछ ।
आजको मौसम
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।
शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय विषयक अन्तरक्रिया
नेकपा (माओवादी केन्द्र) ले आज शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय विषयक अन्तरक्रिया कार्यक्रम गर्दैछ । अन्तरक्रिया कार्यक्रम आज मध्यान्ह १२ बजे शुरु हुनेछ । सत्तारुढ दलहरुले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायलाई फास्ट ट्रयाकबाट टुंग्याउने भनेपनि प्रम्ुख प्रतिपक्ष दल नेकपा एमालले भने संसदीय समितिमा पठाएर मात्रै यसलाई टुंग्याउन सकिने अडान लिएको छ ।