
राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दै
आज राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ ।
प्रतिनिधि सभाको बैठक बस्दै
आज संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे शुरु हुनेछ । आजको बैठकमा सार्वजनिक सेवा प्रशारण विधेयक, २०७८ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने, सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्य व्यवस्था परामर्श समितिका सदस्यहरुको नाम मनोनयन गर्नुहुने, प्रधानमन्त्री पुष्पकमल दाहालले लोकसेवा आयोगको ६३ औं वार्षिक प्रतिवेदन (२०७८ श्रावण—२०७९ असार) पेस गर्नुहुने कार्यसूचि रहेको छ ।
आजको मौसम
हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बांकी पहाडी भूभाग लगायत सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ भने अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको छ । आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
ए डिभिजन लिगः आज दुई खेल
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् । आज एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा दिउँसो २ बजेबाट शुरु हुनेछन् । एन्फा कम्प्लेक्समा साविक विजेता मच्छिन्द्र फुटबल क्लव र हिमालयन शेर्पा क्लव भिड्नेछन् भने च्यासल मैदानमा त्रिभुवन आर्मी क्लव र थ्री स्टार क्लवबीच प्रतिष्पर्धा हुनेछ ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै
आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदैछ । साथै निर्वाचन आयोगले आज नै उम्मेदवारलाई चुनाव चिन्ह वितरण गर्ने कार्यतालिका रहेको छ । आयोगका अनुसार आज बिहान ९ बजेदेखि १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिन समय दिने र त्यसपछिको समयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी चुनाव चिन्ह प्रान गरिनेछ । उपनिर्वाचन चितवन २, तनहुँ १ र बारा निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुँदैछ ।
सत्ता गठबन्धनको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
१० दलीय सत्ता गठबन्धनले आज अपरान्ह सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । आज अपरान्ह गठबन्धनमा सहभागी १० दलहरुले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेका हुन् । आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने र शुक्रवारसम्म पूर्ण मन्त्रीपरिषद्को बिस्तार गरी देश विकासका कामहरु तिब्र गतिमा अघि बढाउने प्रधानमन्त्री पुष्पकमल दाहालले बताइसक्नुभएको छ ।