
आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तनहुँ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिएका डा. स्वर्णिम वाग्लेले निर्वाचनका लागि सहयोग गर्न आह्वान गरेका छन्। उनले मंगलबार सामाजिक सञ्जालमार्फत देशबिदेशबाट सहयोग गर्न इच्छुकहरुका लागि खाता खोलेको भन्दै विवरण दिएका छन्। उनले ‘निर्वाचनका लागि पारदर्शी कोष’ नाम राखेर आफ्नो खाता नम्बर दिएका हुन्। उनले निर्वाचन आयोगले सांसदको प्रचारप्रसारका लागि तोकेको खर्चको सीमा ३१ लाख रुपैयाँभन्दा बढी पैसा जम्मा भए सार्वजनिक जानकारी गराउँदै कानुनबमोजिम गर्ने पनि उल्लेख गरेका छन्। उनले लेखेका छन्- तनहुँ-१ को आसन्न उपनिर्वाचनमा आर्थिक सहयोग गर्न धेरैजना शुभचिन्तकले इच्छा गर्नुभएको छ। यसै प्रयोजनका लागि निम्न खाता (नयाँ) खोलेको छु। निर्वाचन आयोगले रु. ३१ लाखको सीमा तोकेकोमा यसभन्दा धेरै पैसा जम्मा भए पूर्ण सार्वजनिक जानकारी सहित कानून बमोजिम गर्नेछु।