
नेपालमा पदयात्रीलाई सुरक्षित बनाउन पदयात्री सूचना व्यवस्थापन प्रणाली (ट्रेकर्स इन्फरमेशन म्यानेजमेण्ट सिस्टम) शुरुवात भएको छ ।
शनिवार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पदयात्री सूचना व्यवस्थापन प्रणालीको शुभारम्भ गर्नुभएको हो । नेपालमा पदयात्रालाई सुरक्षित बनाउन, पदयात्रीको सेवा, सुविधा र सुरक्षालाई प्रत्याभुत गर्न र पदयात्रामा हुनसक्ने जोखिमलाई न्युनिकरण गर्न पदयात्री सूचना व्यवस्थापन प्रणाली (ट्रेकर्स इन्फरमेशन म्यानेजमेण्ट सिस्टम) शुरु गरिएको हो । यो मापदण्ड आजबाट नै लागू हुनेछ । पदयात्री एवं पथ प्रदर्शक वा सहयोगीको सुरक्षालाई प्रत्याभुत गर्न पदयात्रामा जाने पदयात्रीका लागि सम्बन्धित कम्पनीले टिप्स अनुमति पत्र लिनुपर्नेछ । अर्थात अबबाट कोही पनि समूहमा मिलर जटिल स्थानतर्फ (विशेष गरी) हिमालय क्षेत्रतर्फ एक्लै र समूहमा मिलेर बिना गाइड जान नपाइने भएको हो । तर हिमाल आरोहण अनुमति पत्र लिइ हिमाल आरोहण जाने आरोहीले टिप्स अनुमति पत्र लिनु पर्नेछैन । अध्यागमन विभागबाट अनुमति पत्र लिइ नेपाल सरकारले तोकेका निषेधित क्षेत्रमा जाने पर्यटकको लागि टिप्स अनुमति पत्र अनिवार्य नहुने बताइएको छ । कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले यो व्यवस्थाले नेपालको पर्यटन क्षेत्रलाई सुरक्षित बनाउन उल्लेख्य भुमिका खेल्ने बताउनु भयो । उहाँले आफ्नै पालोमा पर्यटन क्षेत्रलाई उकास्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रो देशको आर्थिक विकासमा पर्यटनको क्षेत्रबाट धेरै ठूलो योगदान भइरहेको छ, हाम्रो पालामा नै हामीले पर्यटनमा ठूलो विकास गर्नुपर्नेछ । प्रविधि र पर्यटनको क्षेत्रमा हामी एक पाइला अघि बढेका छौँ । यसले अझै पर्यटन क्षेत्रलाई व्यवस्थित गर्नेछ । कार्यक्रमपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीले आजबाट नेपाल पर्यटन बोर्डले ट्रेकिङ इन्फरमेशन म्यानेजमेण्ट सिस्टमलाई लिएर नयाँ नियम जारी गरेको बताउनु भयो । उहाँले कोही पनि व्यक्तिले नेपालमा आजसम्म आफूले चाहेका ठाउँमा टिम लिएर जानसक्ने व्यवस्था रहेपनि अबबाट भने अनिवार्य रुपमा पथप्रदर्शक लैजानुपर्ने व्यवस्था लागू गरेको बताउनु भयो । नेपालमा प्रत्येक सिजनमा घुम्न गएका पदयात्रीहरु हराउने, मृत्यु हुने घटना बढेकाले सुरक्षाका लागि यो व्यवस्था लागू गरिएको बताउनु भयो । उहाँले पथप्रदर्शक लैजानैपर्ने व्यवस्थाले पदयात्राको क्षेत्र सुरक्षित हुने, रोजगारीको अवस्था सिर्जना हुने र नेपालका अहिलेसम्म पथप्रदर्शक नभएका कारण चाहेको ठाउँमा पुग्न नसकेका पर्यटकका लागि सुरक्षित अवस्था आउने बताउनु भयो । उहाँले भन्नुभयो, ‘आजबाट नेपाल पर्यटन बोर्डले ट्रेकिङ इन्फरमेशन म्यानेजमेण्ट सिस्टमलाई लिएर नयाँ रुल लिएर आएको छ । आजसम्म आफूले चाहेका ठाउँमा टिम लिएर जान सक्थे भने तर उनीहरुले अनिवार्य रुपमा गाइडहरु लैजानुपर्ने व्यवस्था थिएन । तर बारम्बार नेपालमा प्रत्येक सिजनमा एफआईटीहरु हराउने, कुनै खालका दुर्घटना हुने र समयमा नै उद्धान हुन नसक्दा मृत्युवरण गर्नुपरेको थियो । जसकारण एफआईटी पठाएर मात्रै टे«किङमा जाने व्यवस्था गरेको हो । पदयात्रालाई सुरक्षित बनाउन हामीले यो पथप्रदर्शक अनिवार्य चाहिने व्यवस्था गरेका हौँ । आजबाट यो प्रणाली लागू भएको छ । यसले नेपालको पदयात्राको क्षेत्र सुरक्षित हुने, रोजगारीको अवस्था सिर्जना हुने, पदयात्री भएपछि जुनकुनै पनि ठाउँमा पर्यटकहरु जानसक्ने स्थिति सिर्जना हुन्छ । नेपालको पदयात्रा अब पहिला भन्दा बढी सुरक्षित हुनेछ । त्यस्तै ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपालका अध्यक्ष निलहरी बाँस्तोलाले यस व्यवस्थालाई कार्यान्वयको पक्षमा लैजान संस्था प्रतिवद्ध भएर लाग्ने बताउनु भयो । न्युज एजेन्सी नेपालसँग्को कुराकानीमा उहाँले सरकारले जटिल स्थानहरुलाई पथप्रदर्शक बिना जान र अनुमति लिएर मात्रै जाने क्षेत्रहरु सीमाङ्कन गरेको र यो व्यवस्थाले नेपालमा पर्यटकको आवागमनलाई झनै व्यवस्थित बनाउने बताउनु भयो । उहाँले कतिपय क्षेत्रबाट भने यो व्यवस्था हुन नहुने माग पनि आइरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘लामो समयदेखि पर्वतीय पर्यटनमा अनिवार्य गाइड भन्ने विषय उठेको थियो । तर भएको थिएन, उस पटक मन्त्रालयसहित पर्यटन बोर्ड मिलेर लागू गरिएको छ । यसलाई कार्यान्वयको पक्षमा लैजान, देशव्यापी रुपमा गम्भीर भएर कार्यान्वयन गर्नेछौँ । यो सुरक्षासँग जोडिएको विषय भएकाले गम्भीर रुपमा लिन आवश्यक छ । बिरामी परेको बेलामा पनि गाइड भएपछि घुम्न जाँदा नेपाल सेफ छैन भन्नेजस्ता अवस्था बाहिर गइरहेकाले त्यसलार्य रोक्न हामीले यो नियम ल्याएका हौँ । यसलाई हामी देशव्यापी रुपमा कार्यान्वयनमा लैजानेछौँ । हिमालय क्षेत्रमा गाइडसँगै लिएर जाँदा नेपाललाई नै राम्रो हुन्छ, आजबाट नै शुरु भएका छौँ । यो स्वागतयोग्य छ । कञ्चनजंगा बेसक्याम्प, लुम्बासुम्बा पास ट्रेक, मकालु हिमाल बेस क्याम्प, शेर्पेनी क्लोज पास टे«क, एभरेष्ट बेसक्याम्प, गोकियो ट्रेक, च्छो ल्हा पास ट्रेक, गोकियो रेन्जो ला पास ट्रेक, हुम्ला लिमी भ्याली, उपर डोल्पा, राउण्ड धौलागिरी, उपर मुस्ताङ ट्रेक, अन्नपूर्ण सर्किट ट्रेक,मनास्लु हिमाल, गणेश हिमाल,लाङटाङ, गोसाइकुण्ड, हेलम्बु, पाँचपोखरी, च्छो रोल्पा लगायतका स्थलहरुमा अनिवार्य रुपमा पथप्रदर्शक आवश्यक पर्नेछ । यी क्षेत्रमा पदयात्रीको साथमा जाने १० वर्ष भन्दा कमका बालबालिकाको हकमा भने अनुमति पत्र लिनु नपर्ने बताइएको छ ।