
जसपा विधान अधिवेशन समितिको बैठक बस्दै
आज जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशन मुल व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक आज मध्यान्ह पार्टी केन्द्रिय कार्यालयमा बस्नेछ । बैठकमा विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठनलगायतका विषयमा छलफल हुनेछ । जसपाले यही चैत २७, २८ र २९ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।
आज घोडे जात्रा विभिन्न कार्यक्रम गरी मनाइँदै
आज घोडे जात्रा । काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । घोडे जात्राको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको रूखमा वास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनैपनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास छ ।
आजको मौसम
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कही स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ÷हावा–हुरी÷असिनासहित क्षणिक÷हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷ चट्याङ÷हावा–हुरी÷असिनासहित क्षणिक÷हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।