
नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक संसदीय समितिमा पठाएर छलफल गर्नुपर्ने बताउनुभएको छ ।
शनिवार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय दलका प्रमुख सचेतक र सचेतकहरुसँग गर्नुभएको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रमुख सचेतक गिरीले संसदमा पेस भइसकेपछि संसदमा विभिन्न ढंगले विधेयकमा छलफल हुने र संशोधन हुने बताउनु भयो । उहाँले यसलाई टुंगोमा पु¥याउन भने संसदीय समितिमा नै छलफल गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो । विधेयकमा अन्तर्राष्ट्रिय समुदायले नियालीरहेको भन्दै उहाँले संसदबाट हतारका साथ पारित गरेर जानु नहुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो विषय यहाँ पेस भइसकेपछि यसमा विभिन्न ढंगले छलफल हुन्छन्, संशोधन हुन्छ, त्यसमा छलफल हुँदै जान्छ । तर समितिमा गएर व्यापक रुपले छलफल गरेर यसलाई टुंगोमा पु¥याउनुपर्छ । संसदबाट हतारका साथ पारित गरेर जानु हुँदैन, अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण भएको मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ । यसमा विशेष जोड दिएर गम्भीर बनेर जानुपर्छ । प्रमुख सचेतक गिरीले आईतवार बस्ने प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा नियमावली पेस गर्ने सहमति भएको बताउनु भयो । उहाँले बैठकमा नेकपा एमालेले प्रमुख प्रतिपक्षको रुपमा आफूहरुको सिट व्यवस्थापन हुनुपर्ने माग गरेको बताउनु भयो । उहाँले सो विषयमा आईतवार साढे १० बजे काँग्रेसले बैठक बसेर यस बारेमा आफ्नो धारणा राख्ने काँग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकमा बताउनुभएको जानकारी गराउनु भयो । प्रमुख सचेतक गिरीले प्रतिनिधि सभा नियमावली अहिलेसम्म संसदमा पेस हुन नसक्दा संसदीय समितिहरु र अन्य काम कारबाहीहरु अघि बढ्न नसकेको बारेमा पनि बैठकमा छलफल भएको बताउनु भयो । उहाँले संसदीय गतिविधिलाई मध्यनजर गरी आईतवारको संसद बैठकमा प्रतिनिधि सभा नियमावली पेस गर्ने सहमति भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सिट व्यवस्थापनको विषयमा छलफल भयो । नेकपा एमालेले हामी संसदमा प्रमुख प्रतिपक्षको रुपमा छौँ, त्यही हिसावले सिट व्यवस्थापन हुनुपर्छ भनेर माग गरेका छौँ । नेपाली काँग्रेसका रमे लेखकज्युले भोलि नै यो विषयमा साढे १० बजे बैठक बस्छौँ, त्यसपछि हाम्रो धारणा सार्वजनिक गर्छौं, भोलि बैठक १ बजेपछि हुने भएकाले साढे १० बजे नै बैठक बसेर धारणा बाहिर ल्याउँछौँ भन्नुभएको छ । अर्को कुरा प्रतिनिधि सभा नियमावली अहिलेसम्म संसदमा पेस पनि भएको छैन, छलफल पनि भएको छैन, संसदका समितिहरु बन्न नसक्ने र अरु कामहरु पनि अघि बढ्न नसकेको अवस्था छ । भोलि नै पेस गर्ने, छिटो भन्दा छिटो अघि लैजाने कुरालाई मध्यनजर गरी भोलि नै पेस गर्ने सहमति गरेका छौँ । प्रमुख सचेतक गिरीले प्रतिनिधि सभा नियमावली पारित नहुँदा महत्वपूर्ण विधेयकहरु अड्किएकाले यसलाई चाँडो भन्दा चाँडो अघि बढाउनुपर्ने बताउनु भयो ।