
उपराष्ट्रपतिको निर्वाचन आज
आज उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । निर्वाचन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा निर्वाचन हुन लागेको हो । उपराष्ट्रपति पदका लागि नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टी, नेपालबाट १० दलीय गठबन्धनको साझा उम्मेदवारका रुपमा रामसहायप्रसाद यादव, र जनतम पार्टीबाट ममता झा एवं जनता समाजवादी पार्टीबाट नै प्रमिलाकुमारीको उम्मेदवारी छ । प्रमिलाकुमारीले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउनुभएको छ भने अन्य उम्मेदवारबीच प्रतिष्पर्धा हुनेछ ।
रास्वपाको पदाधिकारी बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी र संसदीय दलको बैठक आज बस्दैछ । बैठकले उपराष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्नेबारेमा निर्णय गर्नेछ । बैठक आज बिहान साढे ११ बजे पार्टी केन्द्रिय कार्यालय सामाखुशीमा बस्नेछ ।
ए डिभिजन लिगः आज दुई खेल हुँदै
शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा आज दुई खेलहरु हुँदैछन् । लिगको पाँचौं चरण अन्तर्गत एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । च्यासलमा हुने खेलमा चर्च ब्वाइज युनाईटेड र मच्छिन्द्र फुटबल क्लवबीच प्रतिष्पर्धा हुनेछ भने एन्फा कम्प्लेक्समा थ्री स्टार क्लव र जावलाखेल युथ क्लवबीच प्रतिष्पर्धा हुनेछ । दुवै खेल दिउँसो साढे २ बजे शुरु हुनेछन् ।
आजको मौसम
हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेश, मधेस प्रदेश, वागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थानहरू तथा तराई भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन ,चट्याङ ,हावाहुरीसहित क्षणिक ,हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका थोरै स्थानहरुमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जन ,चट्याङसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।