
विश्व क्रिकेट लिग टूअन्तर्गत नेपाल र यूएईबीच भोलि (बिहीबार) हुने खेलका लागि एघार हजार टिकट बिक्री भएको छ । नेपाल क्रिकेट संघ क्यानले, टिकट बिक्री बन्द भएको जानकारी दिएको छ । टिकटको अत्यधिक माग भए पनि थेग्न नसक्ने अवस्था आएपछि बिक्री रोकिएको जनाइएको छ । दश हजार अनलाइन र एक हजार फिजिकल टिकट बिक्री भएको हो । क्यानले अतिथिका लागि पाँच सय पास वितरण गरेको छ । भोलि (बिहीबार) नेपाली क्रिकेट इतिहासकै सर्वाधिक समर्थक त्रिवि मैदानमा पुग्ने अनुमान छ । उपत्यका बाहिरबाट पनि प्रत्यक्ष खेल हेर्न समर्थक आइरहेका छन् । नेपाली टिमले उत्कृष्ट प्रदर्शन गर्दै लिग टूअन्तर्गत पछिल्ला एघारमध्ये दश खेल जितेकाले मैदानमै पुगेर खेल हेर्ने समर्थकको संख्या बढेको हो । त्रिवि मैदानको दर्शक क्षमता १४ हजार मानिन्छ । क्यानले भोलिको खेलको टिकटबाट प्राप्त हुने सबै रकम खेलाडी कल्याणकारी कोषमा जम्मा गर्ने जनाएको छ । सुरक्षा व्यवस्था पनि कडा गरिएको छ । नेपाल प्रहरी र एपीएफ गरी करिब डेढ सय सुरक्षाकर्मी त्रिवि मैदानमा खटिनेछन् । बिहान आठ बजेदेखि समर्थकलाई मैदान प्रवेश गराइने क्यानको भनाइ छ । खेल बिहान साढे नौ बजे सुरु हुनेछ ।