
काठमाडौं
बुद्धनगरस्थित सांसद चन्द्र भण्डारीको घरमा ग्याँस लिग भएर एक्कासी आगलागी भएपछि अहिले भण्डारीसहित उनकी ८६ वर्षीया आमा किर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत छन् । बुधबार राति ९ : ३० बजेको समयमा भण्डारीलाई कांग्रेस नेता एनपी साउदले घरमा ल्याएर छोडिदिए । प्रहरीका अनुसार त्यतिन्जेलसम्म घरको अवस्था ठिकै थियो । १० बजेपछिको समयमा आमा भान्छामा गइन् ग्याँस खोलिन् । पहिलानै ग्याँस लिग भएर कोठामा भरिएको रहेछ । आगोको झिल्को भेटेपछि नियमित तरिकाले बल्नुपर्ने ग्याँस एक्कासी अनियन्त्रत भएर बल्यो र भण्डारीकी वृद्ध आमामाथि बल्न थाल्यो । सँगै घरमा झ्यालका सिसा फुट्न थाले । आमाको यस्तो अवस्था देखेपछि भण्डारी आमाको उद्धारमा लागे ।उनलाई पनि आगाेले पोल्न थाल्यो । माथिल्लो तलामा बस्ने सांसद भण्डारीका भाइबुहारी र छिमेकीले आमालाई उद्धार गरेर अस्पताल पुर्याए । पछि प्रहरीको सहयोगमा भण्डारीलाई पनि अस्पताल पुर्याइयो । चिकित्सकका अनुसार भण्डारीका आमाको ७० प्रतिशत भाग जलेको छ सांसद भण्डारीको ३० प्रतिशत भाग जलेको छ । सांसद भण्डारीको अनुहार, हात र खुट्टामा धेरै जलन भएको चिकित्सकहरूले बताएका छन्। बर्न अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भण्डारी आमाछोरालाई भारत लैजाने तयारी भइरहेको छ ।