
काठमाडौं ।
पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको एटिआर–७२ जहाजको डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन्न भएको दुर्घटना जाँच आयोगले जनाएको छ । गत माघ १ गते काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटिआर जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पश्चिमतर्फ रनवे–१२ बाट अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनाको छानबिन गर्न सरकारले गठन गरेको दुर्घटना जाँच आयोगले सिङ्गापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्यूरोमा फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर डाटा विश्लेषण गरेको थियो । आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेका अनुसार डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर दुवैको डाटा विश्लेषण र अनुसन्धान गर्न आयोगका संयोजक, हवाई विज्ञ र सदस्यसचिवहरुलाई पठाइएकामा उक्त कार्य सफलतापूर्वक सम्पन्न गरी आयोगकका पदाधिकारी नेपाल फर्किएका हुन् । उक्त फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको डाटा विश्लेषण गर्न आयोगको नेतृत्वमा सिङ्गापुर, फ्रान्स, क्यानडा र आयसाका प्रतिनिधिसमेत बसेर प्राविधिक तथा मानवीय पक्षको विश्लेषण गरिएको आयोगले जनाएको छ ।