
काठमाडौँ |
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीहरुलाई नकस्न बैंकहरुसँग आग्रह गरेका छन्। बुधबार काठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले व्यवसायीहरुलाई परिरहेको अप्ठ्यारो बुझेर बैंकले व्यवसायीहरुलाई कस्ने नीति नलिन आग्रह गरेका हुन्। उनले कुनै पनि ग्राहकलाई बैंकले सही कुरा नबताएमा राष्ट्र बैंकलाई गुनासो गर्न आग्रह गरे। गभर्नर अधिकारीले राष्ट्र बैंकमा आएको गुनासोको उचित सम्बोधन गर्ने पनि बताए। उनले अहिले अर्थतन्त्रमा विस्तारै सुधार भइरहेको भए पनि अर्थतन्त्र सबैतिर सहज हुन केही समय लाग्ने उल्लेख गरे। गभर्नर अधिकारीले पछिल्लो समय बजारमा तरलतामा सहजता आउन लागेको बताए। तरलतामा सहजता आउने भएपछि बैंकको समस्या पनि विस्तारै कम हुँदै जाने भएकोले व्यवसायीलाई नकस्न उनको आग्रह थियो। उनले दुई महिनाको अन्तरालमा अन्तरबैंकिङ ब्याजदर ८ प्रतिशतबाट ४.१० प्रतिशतमा झरेको बताए। गभर्नर अधिकारीले अहिले मुलुकमा एकखाले मन्दीको अवस्था सिर्जना भएकाले बजारमा माग घटेको पनि उल्लेख गरे। उनले भने, ‘तपाईहरुले कस्ने बेला होइन यो, एक महिना जति हेर्दिनुहोस् न, एउटा क्वार्टरमा ब्याज नतिर्दैमा तुरुन्तै अक्शन गर्नुपर्छ भन्ने छैन, हाम्रो नियमले पनि त्यो बताउँदैन।