
काठमाडौं । सर्वोच्चको फैसलाविरुद्ध प्रदर्शन गर्ने रवि लामिछानेका समर्थकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार सर्वोच्च अदालतको फैसलासँगै पदमुक्त भएका लामिछानेका समर्थकहरूले सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेका थिए । प्रदर्शनमा उत्रिएका पुकार बम, तारा बराल, शोम शर्मा लगायत केही व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए । अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविले नेपाली नागरिकका रुपमा गरेका सबै कार्य अवैध हुने भनेको फैसला सुनाएको हो । संवैधानिक इजलासको यो फैसलासँगै रवि लामिछानेको मन्त्री तथा सांसद पद खारेज भएको छ । त्यस्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बन्न समेत अयोग्य भएका छन् ।