
काठमाडौँ । प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न देशभर सर्कुलर गरिएको छ । नेकपा (एमाले)का सांसद कोइरी महोत्तरी क्षेत्र नम्बर–१ बाट निर्वाचित भएका हुन् । गृह मन्त्रालयले कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई लिखित रूपमा पत्राचार गरेको छ । गृह मन्त्रालयबाट मौखिक र लिखित निर्देशन आएको प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राईले रातोपाटीलाई बताए । उनले भने–‘देशभर सर्कुलर गरेका छौँ । सांसद कोइरीलाई नियन्त्रणमा लिन प्रहरी लागिराखेको जानकारी दिँदै प्रवक्ता राईले भने–‘छिट्टै समात्छौँ । उनलाई पक्राउ गर्नेबारे प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयको बीचमा विवाद देखिएको छ । माघ ६ मा गृह मन्त्रालयले कोइरीलाई पक्राउ नगरेकोमा विज्ञप्ति नै निकालेर असन्तुष्टि जनाएको थियो । सांसद कोइरी महोत्तरीको गौशाला नगरपालिका–२ का स्थानीय हुन् । कोइरीलाई पक्राउ गर्नेबारे गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर भनेको थियो–‘उपप्रधानमन्त्रीज्यूबाट पटक पटक प्रहरीलाई मौखिक निर्देशन भएकोमा हालसम्म पक्राउ नपरेको प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । राष्ट्रसेवक कर्मचारी हत्या अभियोगमा उच्च अदालत जनकपुरले कोइरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ । २०७७ मंसिर १९ मा जनकपुर उच्च अदालतले जारी गरेको वारेन्ट’का कारण उनी प्रहरीको ‘खोजी सूची’मा छन् । अदालतबाट जारी पक्राउ पुर्जी प्रहरीसँग छ । प्रधान कार्यालयले सो पुर्जी अहिले देशभरका प्रहरी युनिटहरूमा पठाएको छ । सांसद कोइरीमाथि २०७२ को मधेस आन्दोलनमा सशस्त्र प्रहरीका असई थमन विकलाई लखेटेर हत्या गरेको आरोप छ । चुनावअघि जसपा छाडेर एमाले प्रवेश गरेर उनी चुनावमा होमिएका हुन् । उनीविरुद्ध प्रेम बहादुर विकले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कर्तव्य ज्यान मुद्दाको जाहेरी दिएका थिए । सो मुद्दामा तारेख गुजारेर उनी फरार भएका हुन् ।
भारत भागेको आशंका
लक्ष्मी महतोको अस्थायी बसोबास भक्तपुरको दुवाकोटमा छ । उपत्यका प्रहरी कार्यालयले उनी बस्ने घरमा निगरानी बढाउन प्रहरी परिचालन गरेको छ । घरमा निगरानी बढाएपछि सांसद कोइरी भातरतिर लागेको आशंका गरिएको छ । उनीबारे अनुसन्धान गरिरहेका अधिकृतहरू कोइरी भारततिर भागेको बताउँछन् । उपप्रधान एवं गृहमन्त्रीको मौखिक आदेश नै पर्याप्त भएको उल्लेख गर्दै प्रहरी प्रवक्ता (डीआईजी) टेक प्रसाद राईले भने–‘खोजी तीव्र बनाएका छौ, चाँडै पक्रन्छौँ । नयाँ संविधान बन्नुअघि २०७२ मा मधेस आन्दोलन सुरु भयो । आन्दोलनमा सुरक्षामा खटिएका असई विकको हत्या कोइरीको योजनामा भएको अभियोग छ । २०७२ भदौ २५ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो । थमनका दाजु प्रेमबहादुरले कोइरीसहित २८ जनाविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले मुद्दा चलाएको थियो । जिल्ला अदालत महोत्तरीले २०७६ असोज २ मा कोइरीलाई १ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । आदेशविरुद्ध पुनरावेदन परेपछि जनकपुर उच्च अदालतले जिल्लाको आदेशलाई उल्ट्याइदियो ।