
पोखरा माघ ४
पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ७० पुगेको छ र अझै २ जना बेपत्ता छन् । आधिकारिक निकायले दिने जानकारी अहिलेसम्मलाई यही हो । तर उद्धारकर्ताले थप दुईवटा शव भेटेका छन्, जसको पुष्टि भएको छैन । प्रहरी स्रोतका अनुसार एउटा शव हवाइ दुर्घटनाकै यात्रु हो वा होइन भन्ने खुलेको छैन । अर्को भने मानव शरीरको केही भागमात्रै भेटिएको छ । यी दुबै शवलाई हाल गणनामा नराखिएको प्रहरी स्रोतको भनाइ छ । दुर्घटना भएको दिन आइतबार ६३, सोमबार ७ र मंगलबार एक जनाको शव फेला परेको थियो । मंगलबार साँझ घटनास्थलभन्दा करिब ७ सय मिटर तल सेती खोंचमा शव फेला परेको थियो । त्यो शव हवाइ दुर्घटनाको हो या होइन अझै पुष्टि हुन सकेको छैन । घटनास्थलबाट केही टाढा शव भेटिएको हो । शरीर जलेको छैन । तर, शरीरका भाग भाँचिएका छन्’, उद्धारमा संलग्न स्रोतले अनलाइनखबरसँग भन्यो, ‘यो बडी यहाँबाट उछिट्टिएको हो कि अर्र्र्कै केस हो, पुष्टि हुन बाँकी छ । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार पछिल्लो पटक भेटिएको उक्त शव डीएनए परीक्षणका लागि काठमाडौं पठाइएको छ । ‘डीएनए रिपोर्ट आइसकेपछि मात्रै उक्त शव जहाज दुर्घटनासँग सम्बन्धित हो या होइन बल्ल पुष्टि हुन्छ’, उनले भने, ‘पुष्टि नहुँदासम्म आधिकारिक संख्या ७० नै हो । उद्धारमा खटिएका सशस्त्र प्रहरी बलका एकजना सुरक्षाकर्मीका अनुसार मंगलबार साँझ नै मानव शरीरका केही अंग फेला परेका छन् । पूरा जलिसकेको अवस्थामा खुट्टाको केही भाग र टाउकोको हड्डी फेला परेको छ । त्यसलाई हाल पूरा शरीर नमानेर ‘बडी नम्बर’ मात्रै राखिएको उनले बताए । ‘साँझको समयमा खुट्टाको केही भाग (दायाँ खुट्टाजस्तो देखिने) र कलेजोजस्तो बडीको पार्ट भेटिएको छ,’ ती उद्धारकर्ताले भने, ‘त्यो बडी पार्ट पनि डीएनए परीक्षणका लागि पठाइसकेका छौं । रिपोर्ट आएपछिमात्रै थाहा हुन्छ । उद्धारमा संलग्न सुरक्षाकर्मीले २ वटा अपुष्ट शव फेला परे पनि आफूहरुले खोजतलास भने निरन्तर राखिरहेको बताएका छन् । ‘सग्लो शरीर फेला नपरेपछि अब हामी डीएनए टेस्टकै पर्खाइमा छौं । तर, अन्य केही खुल्छ कि भनेर निरन्तर अनुसन्धानमै छौं’, प्रहरी स्रोतले भन्यो । पुरानो पोखरा विमानस्थल पछाडिको सेती खोंचमा आइतबार ६८ जना यात्रु र ४ जना चालक दलसहित ७२ जना सवार यती एअरलाइन्सको विमान दुर्घटना भएको थियो । दुर्घटनास्थल निकै जोखिम ठाउँमा भएकाले उद्धारमा समस्या भएको उद्धारमा संलग्न सुरक्षाकर्मीले बताएका छन् । सेतीको साँघुरो र अप्ठेरो खोंचमा दुर्घटना भएकाले उद्धारमा सकस परेको थियो । उद्धारकर्तासमेत जान सहज नभएकाले गोताखोर र ड्रोनको प्रयोग गरिएको थियो । सोमबारदेखि अज्ञात अवस्थामा रहेका यात्रु खोज्न ४ वटा ड्रोन प्रयोग गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जानकारी दिएको छ । उद्धार सहजताका लागि मंगबारदेखि सेती खोलाको पानीको मात्रासमेत घटाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक जिल्ला अधिकारी अनिलकुमार शाहीका अनुसार सेती नदीको पानीलाई याम्दीको पुलबाट सिंचाइका लागि बनाइएको नहरमा हालिएको छ । घटनाबारे अध्ययन गर्न फ्रान्सबाट आएको विज्ञ टोली र नेपाल सरकारले बनाएको दुर्घटना जाँच आयोगले बुधबारबाटै काम सुरु गरेका छन् । उनीहरुले प्रारम्भिक चरणको अनुसन्धान सुरु गरिसकेका छन् । फ्रान्सबाट एटीआर विमान निर्माता कम्पनीको ९ सदस्यीय विज्ञ टोली नेपाल आएको थियो । नेपालमा पहिलो पटक एटीआर विमान दुर्घटना भएकाले पनि विमान निर्माता कम्पनीले दुर्घटनाप्रति चासो दिएको हो । सरकारले विमान दुर्घटनापछि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा बनाएको पाँच सदस्यीय दुर्घटना जाँच आयोगले पनि अध्ययन सुरु गरिसकेको छ । जहाजको ब्ल्याक बक्सको रिपोर्ट आउन ढिला हुने भएकाले रिपोर्ट कहिलेसम्म आउने भन्न नसकिने उक्त आयोगका एक सदस्यले अनलाइनखबरलाई बताए । भर्खर जाँच सुरु भएको छ । सबै चिज मिहिन ढंगले अध्ययन गर्नुपर्छ । त्यसमाथि सुरुमा ब्ल्याक बक्सको रिपोर्ट नआई केही भन्न सकिँदैन’, आयोगका एक सदस्यले भने, ‘फाइनल रिपोर्ट आउन अझै केही समय लाग्छ । निश्चित छैन । आयोग सदस्यमा हवाई विज्ञका रुपमा नेपाली सेनाका अवकाश प्राप्त उपरथी दीपकप्रसाद बाँस्तोला र अवकाशप्राप्त क्याप्टेन सुनिल थापा छन् । आयोगको सदस्यमा हवाई मर्मत विज्ञ एकराज जंग थापा र आयोगको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् ।