
निर्माण उद्योगका लागि अति आवश्यक कच्चा पदार्थ गिट्टी, बालुवा, ढुंगा, माटो लगायतका निर्माण सामग्रीहरू उत्खनन, ओसारपसार लगायत पछिल्लो समयमा देखिएको समस्याप्रति यस महासंघको गम्भिर ध्यानाकर्षण भएको छ । विगतमा पनि पटक पटक नदी तथा खानीजन्य निर्माण सामग्रीको उत्खननमा देखापर्ने समस्याले यो उद्योग आक्रान्त छ । यसको ठोस निकास दिन महासंघले सरोकारवाला निकायहरूलाई बारम्बार ध्यानाकर्षण गराउँदै आइरहेको पनि छ । विभिन्न शक्ति केन्द्रहरूको आडमा निश्चित समुह विशेषले मात्र यस्ता खानीहरू संचालन गर्दै आइरहेका छन् । जसले गर्दा यी उद्योगहरूको वैज्ञानिक तथा व्यवहारिक समस्या समाधान हुन सकेन । सोही कारणले यी उद्योगहरूबाट उत्पादित निर्माण सामग्रीहरूको कृत्रिम अभाव र कालाबजारी भई निर्माण व्यवसायी तथा आम उपभोक्ताहरूले उच्च मूल्यमा खरिद गर्नुपर्ने बाध्यता छ । राज्यले क्रसर उद्योगहरू निर्माण कार्यको मुख्य सिजनमा विना पूर्व सूचना नियमन गरिंदा कसर उद्योगहरूबाट उत्पादित निर्माण सामाग्रीहरू उत्खनन, उत्पादन र ओसारपसारमै गम्भीर समस्या आएको छ । जसको कारणले गर्दा त्यसको प्रत्यक्ष असर राष्ट्रिय गौरवका आयोजना लगायत सम्पूर्ण निर्माण कार्यहरूमा परेको छ । सोही कारणबाट निर्माण कार्यका लागि खानी तथा नदीजन्य निर्माण सामग्रीहरूको अभाव भई निर्माण कार्यहरू ठप्प हुन पुगेको व्यहोरा जानकारी गराउँदछौ । नदी तथा खानीजन्य सामाग्रीहरूको उत्पादन, उत्खनन् र संकलनका रोयल्टीको निर्धारण विभिन्न स्थानीय निकायहरूले विना मापदण्ड अनुचित रुपले फरक फरक निर्धारण गर्ने गरेको पाइएको छ । यस्तो रोयल्टी मूल्यको मापदण्ड संघीय सरकारद्धारा नै निर्धारण गरिनुपर्दछ । साथै निर्माण सामाग्रीहरूको ‘Quarry Zone’ राज्यबाटै तोक्न र उचित मुल्य निर्धारण गर्न महासंघ जोडदार माग गर्दछ । इन्धन सहित निर्माण सामाग्रीमा भइरहेको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण परियोजनाहरू अगाडि बढाउन समस्या भइरहेको वर्तमान अवस्थामा गृह मन्त्रालयबाट २०७९ / ०९ / २० मा जारी भएको निर्देशनबाट निर्माण उद्योग लगायत आम उपभोक्तामा गम्भीर असर परेको छ । यसबाहेक नदीजन्य तथा खानीजन्य निर्माण सामाग्रीको हालको समस्याले त्यस्ता सामग्रीहरूको अभाव सिर्जना भई कार्टेलिङले प्रश्रय पाउने र विगतमा जस्तै चरम मुल्यवृद्धि हुने र केही समय अघि देखि चर्कोमूल्य वृद्धिको मारमा परेका निर्माण व्यवसायीहरू थप मारमा पर्ने निश्चित छ । गिट्टी, बालुवा, माटो, ढुंगा लगायतका निर्माण सामग्री उत्खननमा समस्या देखिए चालु निर्माण परियोजनाहरूको लागत र समय बढ्ने देखिएको छ । यसबाट विगतमा भै काम गर्न नसकेको भनी निर्माण व्यवसायीमाथि अनर्गल आरोप लगाउने अवस्था सिर्जना हुने देखिन्छ । परियोजनास्थल र सो सँग सम्बद्ध क्षेत्रमा रहेको नदी तथा खानीजन्य निर्माण सामाग्रीको परियोजनाले उपभोग गर्न प्रयोग गरिएका उपकरणहरू समेत संचालन गर्न प्रतिबन्ध लगाइएकोप्रति पनि महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । अन्त्यमा, निर्माण उद्योग प्रतिकूल रहेका सबैखाले समस्या तत्काल अन्त्य गरी निर्वाध रुपमा निर्माण व्यवसाय संचालन गर्ने आवश्यक वातावरण बनाउन महासंघ नेपाल सरकार लगायतका सम्बन्धित् सबै निकाय समक्ष जोडदार माग गर्दछ ।