
पु्ष १८, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले आज उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानलेसँग अलग अलग भेटी निर्माण उद्योगका समसामयीक समस्याहरूबारे जानकारी गराएको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगका भेटमा उपप्रधानमन्त्रीद्धयले आवश्यक अध्ययन गरी निर्माण उद्योगको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । महासंघ प्रतिनिधिमण्डलसँगको छलफलमा उप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पूर्वाधार निर्माण नै समृद्ध मुलुकको आयाम भएको बताउनुभयो । निर्माण उद्योग सक्षम तथा सबल हुनुपर्ने भन्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीहरूसँग यस उद्योगमा देखिएका समस्या बारे छलफल गर्न सरकार तयार रहेको बताउनुभयो ।
तोकिएको लागत तथा समयमा नै गुणस्तरीय कार्य पूरा गर्न उहाँले निर्माण व्यवसायीहरूलाई सुझाव दिनुभयो । त्यस्तै उप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्माण उद्योगको समस्याबारे आफु जानकार रहेको बताउँदै निर्माण व्यवसायीहरूका समस्या बारे अध्ययन गरी समाधान खोजिने जानकारी दिनुभयो । उप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले व्यसायीहरूलाई कसेर होइन उनीहरूसँग सहकार्य गरी अघि बढ्ने सोचमा सरकार रहेको प्रष्ट पार्नुभयो । उहाँले जनचाहना अनुसार गुणस्तरीय निर्माण कार्यलाई प्राथमिकता दिन व्यवसायीहरूलाई सुझाव दिनुभयो । उपप्रधानमन्त्रीद्धय समक्ष महासंघका अध्यक्ष रवि सिंहले आर्थिक अभावका कारण निर्माण उद्योगले चरम संकट झेलिरहेको बताउनुभयो । सार्वजनिक खरिदका कानुन अनुसार निर्माण व्यवसायीहरूले पाउनु पर्ने बीस प्रतिशत मोबिलाइजेशन रकम उपलब्ध गराउन अध्यक्ष सिंहले आग्रह गर्नुभयो । निर्माण सम्पन्न भएका परियोजनाहरूको समेत भुक्तानी नपाउँदा निर्माण व्यवसायीहरू चर्को आर्थिक मारमा परेको अध्यक्ष सिंहले बताउनुभयो । उपप्रधानमन्त्रीद्धयको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै महासंघ प्रतिनिधिमण्डलले धरौटी रकम फिर्ता, पाँच प्याकेजको कार्यान्वयन, शान्ति सुरक्षा लगायतका विषयमा पनि ध्यानाकर्षण गराएको छ ।