
काठमाडौं । जिमिनी इन्कर्पोरेट प्रा.लि.ले नेपाल ल्याएको रेसिन्स इलेक्ट्रिक कारको बिक्री केही दिनपछि शुरु हुने भएको छ । यसको पहिलो लट चीनबाट नेपाल हिँडिसकेको र २ हप्तापछि नेपाल आउने कम्पनीका महाप्रवन्धक शुबास शर्माले अर्थसंवाद डट कम लाई बताए । नेपाल आएपछि परिक्षण हुने र लगत्तै बिक्री शुरु गर्ने तयारीमा आफूहरु रहेको शर्माको भनाई छ । पहिलो लटमा १० युनिट कार नेपाल ल्याउन लागिएको हो । यो सिटी कारको २ महिना अघिबाटै वुकिङ खुल्ला गरिएको थियो ।
यो सानो इलेक्ट्रिक कारमा २३ किलोवाट आवर क्षमताको लिथियम आयोन व्याट्री प्याक जडान गरिएको छ भने मोटरको क्षमता १५ किलोवाट रहेको छ भने कारलाई एकपटक फुल चार्ज गर्दा ३०० किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।
सोलार रुफ भएको यो कारले ३० प्रतिशत अतिरिक्त रेन्ज प्रदान गर्ने कम्पनीको भनाई छ । सानो साइजको व्याट्री र कम क्षमताको मोटर जडान गरिएको कारण यसलाई ग्राहकले घरमै उपलब्ध सामान्य प्लगको साहयतामा चार्ज गर्न सक्नेछन् । व्याट्रीलाई फुल चार्ज गर्न ४ देखी ५ घन्टासम्म लाग्ने वताइएको छ ।
यो कारको अर्को विशेषताका रुपमा २३० एमएमको उच्चतम ग्राउन्ड क्लिरियन्स रहेको छ । जुन नेपाली बजारमा हाल उपलब्ध इलेक्ट्रिक कारको तुलनामा सवैभन्दा बढी हो । उच्च ग्राउन्ड क्लिरियन्सका कारण नेपाली सडकका लागी यो उपयोगी हुने देखिएको छ ।
यसमा एउटा इन्ट्रि लेवल सिटी कारमा उपलब्ध हुनुपर्ने प्राय सवैजसो फिचर्स र सुविधा दिइएको छ । यो कारको इन्टेरियरमा अगाडी हेडरेष्ट सहितको सिट, स्टेरिङ ह्विल, एलसिडी प्यानल, मल्टि मिडिया टचस्क्रिन, रियल टाइम स्ट्याटस, फेव्रिक मटेरियल सिट, सन सिल्ड र कप होल्डर लगायत फिचर्स समेटिएको छ ।
कारलाई १०० किलो मिटर सम्मको उच्च गतिमा हाँक्न सकिन्छ । यसको शरुको मूल्य २५ लाख रुपैयाँ कायम गरिएको छ ।